निःशुल्क बस सेवा
कास्की- कात्तिक २ गते दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ ।
बस्नेत भन्नुहुन्छ,दशैँ हामी पनि मान्छौँ तर जनता हाम्रो पहिलो प्राथमिकता हो । सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ । बस सेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ ।