कांग्रेसमा ३२ को रन्को

काठमाडौं÷ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस यतिखेर भाृतृ संगठन नेपाल विद्यार्थी संघको विवादमै रुमल्लिएको छ । जनताबाट सरकारको खबरदारी गर्ने जिम्मेवारी पाएको कांगेस नेविसंघको विधान संशोधनमा अल्मलिएको हो । कांग्रेसले नेविसघमा ३२ वर्ष पूरा भएकाहरु बस्ने नपाउने गरी विधान संशोधन गरेको छ ।
त्यही बिषयलाई लिएर कांग्रेसभित्र अहिले फेरि आन्तरिक विवाद बढेको छ । नयाँ विधान अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरहरुका धेरै विद्यार्थी नेता नेविसंघबाट बाहिरिने अवस्था आएको छ । त्यस्तो अवस्था आएपछि नेता पौडेल र सिटौलाले ३२ वर्र्षे प्रावधान हटाउने योजना बनाएका छन् । नेविसंघमा ३२ वर्षे उमेरहद संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षले ल्याएको स्रोत बताउँछ ।


स्रोतका अनुसार पौडेल र सिटौला पक्षले ३२ वर्षे उमेरहद हटाउन सभापति देउवालाई सुझाव समेत दिइसकेका छन् । सभापति देउवाले भने नेताद्वयको प्रस्तावलाई अस्वीकार गरेका छन् । त्यही बिषयलाई लिएर पार्टीभित्र फेरि किचलो शुरु भएको छ । आन्तरिक विवादकै कारण शनिबार हुने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न सकेन । पौडेल र सिटौला पक्षले आफ्नो पक्षलाई सिध्याउने उद्देश्यले ३२ वर्षे उमेरहद् ल्याएको आरोप लगाएका छन् ।
उमेर हदले नेविसंघभित्र पनि ठूलै भुइँचालो गएको छ । युवा पिढीका नेताले पछिल्लो समय विद्यार्थी संगठनलाई कमाइ खाने भाँडो बनाउँदै आएका छन् । त्यही कारण ४० वर्ष पार गरेका तथा क्याम्पस पढ्न छोडेकाहरु समेत नेविसंघ र अनेरास्ववियु लगायतका विद्यार्थी संगठनमा सक्रिय हुने गरेका छन् । उनीहरुले विद्यार्थी राजनीतिको बहानामा विभिन्न कलेज तथा बोर्डिङबाट चन्दा असुल गर्दै आएका छन् । केही विद्यार्थी नेताले यसरी चन्दा असुलेरै काठमाडौंमा घर बनाएका छन् । केहीले घडेरी जोडेका छन् ।
विद्यार्थी राजनीतिको नाममा त्यस्तो धन्दामा लागेकाहरुलाई उमेरहद बैरी बनेको छ । त्यही कारण उमेर हदले नेविसंघ मात्र होइन अन्य विद्यार्थी संगठनमा समेत तरङ्घ ल्याएको छ ।