काठमाडौमा रोकिए गौतम अब कता जालन् ?

काठमाडौं÷ मुलुकमा पहिलोपटक वामपन्थीको बहुमतको सरकार छ । ५ वर्ष सत्ताको बागडोर नेपाल कम्युनिष्ट पार्र्टीकै हातमा रहने अवस्था छ तर यस्तो बेला पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम संसद बाहिर छन् । यसअघि चिल्लागाडीमा लर्किदै बेलाबखत संसदमा कड्किने नेता गौतम संसदलाई बाहिरबाटै चिहाउन बाध्य छन् । संसदलाई करिब एक वर्ष चिहाएपछि उनीमा अहिले संसद छिर्ने लालसा पलाएको देखिन्छ । त्यसमा मलजल प्रचण्डसहित शीर्षनेताले गरेको छिपेको पनि छैन । त्यही कारण वामदेव सांसद बन्न लालायित भएका हुन् । नेता गौतम निर्वाचन क्षेत्रको खोजी गरिरहेका छन् ।
गृह जिल्ला बर्दियाबाट पराजित भएका नेता गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पछिल्लोसमय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाएका छन् । एमाले उपमहासचिव हुँदै दुई पटक उपाध्यक्ष बनेका गौतम राजनीतिमा माहिर खेलाडी मानिन्छन् । माओवादीलाई शान्ति प्रकृयामा ल्याउनदेखि एमालेसँग एकता गराउन उनको उत्तिकै योगदान छ । नेता गौतम पार्टीभित्र ‘हाइहाइ’ भइरहेकै बेला गतवर्ष भएको निर्वाचनमा आफ्नै क्षेत्रका बासिन्दाले उनलाई गोप्यरुपमा ‘बाइ’ गरे । एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएको र एकता प्रकृया अगाडि बढिरहेकै बेला नेता गौतमको पराजय अप्रत्यासित थियो । त्यसबेला नेता गौतमले चुनाव हार्ने कसैको अनुमान थिएन । अकल्पनीय हारपछि नेता गौतमको संसद छिर्ने ढोका बन्द भयो ।
नेता गौतमले सांसद बन्छु भनेपछि पार्टीभित्रै पनि अन्य नेतामा हुँदैन भन्ने आँट देखिएन । गौतमले रहर छताछुल्ल पारेपछि केही नेताले सहर्ष स्वीकारे । कुनै ठाउँमा उपनिर्वाचन गराएर नेता गौतमलाई संसदमा ल्याउने योजना बन्यो । त्यसपछि उपयुक्त क्षेत्र खोजी हुन थाल्यो । क्षेत्र खोज्दै जाँदा भूगोलको हिसाबले मुलुकको सबै भन्दा ठूलो जिल्ला भए पनि जनसंख्या कम भएको डोल्पा छानियो । प्रतिनिधिसभामा नेकपाबाटै विजयी भएका धनबहादुर बुढालाई राजीनामा गराएर त्यहाँ नेता गौतमलाई उठाउने भद्र सहमति भयो । यद्यपि डोल्पाका बासिन्दाले बुढालाई सांसद नछोड्न दबाब दिए । बुढाले राजीनामा नदिएपछि गौतमको चाहना डोल्पाबाट पूरा हुने देखिएन । त्यसपछि फेरि अर्को क्षेत्र खोज्न थालियो । डोल्पामा वातावरण नबनेपछि वामदेवलाई काठमाडौं–७ बाट उठाउने योजना बन्यो । क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मान्नधरले पत्रकार सम्मेलन गरेर वामदेवका लागि आफूले छोड्ने उद्घोष गरे । त्यसले ठूलै तरङ्ग ल्यायो ।
वामदेवको काठमाडौं–७ सँग अहिलेसम्म कुनै साइनो गाँसिएको छैन । बर्दियालाई राजनीतिक थलो बनाएका नेता गौतमको राजधानीको बसाइ भैँसेपाटीमा छ । काठमाडौं–७ का बासिन्दाले वामदेवलाई टेलिभिजनमा बाहेक देख्न पाएका छैनन् । चुनाव जित्न बासिन्दासँग प्रत्यक्ष रुपमा घुलमिल आवश्यक छ तर काठमाडौ–७ मा वामदेवले मुख्य सडकबाहेक अन्य ठाउँमा पाइला टेकेका छैनन् । राजनीतिमा पछिल्लो समय स्थानीय रोज्ने क्रम बढेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारी मतान्तरले विजयी भएको काठमाडौं–२ मा मतदाताले स्थानीय खोज्दा कृष्णगोपाल श्रेष्ठले नराम्रो पराजय बेहोर्नु पर्यो । वामदेव काठमाडौं–७ मा उठ्ने चर्चासँगै उहाँविरुद्ध गालीको ओइरो लाग्न थालेको छ । त्यसको दोष प्रधानमन्त्री केपी ओलीदेखि अध्यक्ष पुष्पकमल दाहाल समेतले खेप्नु परेको छ ।
डोल्पामा ‘बुढा’ले जानेनन् काठमाडौं–७ मा ‘युवा’ले मानेनन् । यसबाट वामदेवलाई सांसदमा ल्याउन ठूलै समस्या भएको छ । वामदेवलाई काभ्रे क्षेत्र नम्बर २ बाट उठाउन उपयुक्त हुने चर्चा चलेको छ । काभ्रे–२ बाट प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधित्व गर्दै आएका छन् । बाँस्कोटा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए । उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८ सय ४८ मत अन्तरले पराजित गरेका थिए ।
त्यस्तै गौतमका लागि अर्को उपयुक्त ठाउँ नवलपुर–२ हो । जहाँ भूमिगतकालदेखि नै नेता गौतमको साइनो र सम्बन्ध गाँसिएको छ । पहिलाको नवलपरासी–३ अर्थात् अहिलेको नवलपुर–२ वामपन्थीको किल्ला मानिन्छ । त्यहाँ बहुदलीय व्यवस्थादेखि अहिलेसम्म निरन्तर रुपमा वाम उम्मेदवार विजयी हुँदै आएका छन् । त्यस हिसाबले गौतमका लागि चुनाव जित्न सबै भन्दा सजिलो क्षेत्र नवलपुर २ हुन सक्ने अवस्था देखिएको छ ।