च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार ,चित्रबहादुर केसी
काठमाडौं-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन्।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाइट एरिया’ खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए।
केसीले नेपाल जोगाउनकै लागि भए पनि संघीयता खारेज गर्नैपर्ने बताए। केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीतिबाहिर गएर विधेयकहरू बनाउँदा समग्र देश नै धरापमा पर्ने दाबी गरे।
‘२ नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन ?’ केसीले प्रश्न गरे । ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आए पनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको जिकिर गरे ।
तीन तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो ।
च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गरे । उनले भने,‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ ।’
अनावश्यक करकै कारण संघीयता धरापमा परेको उनको तर्क थियो । एउटा नेपाल चलाउन नै कठीन भएको अवस्थामा सातवटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै पनि हालतमा संघीयता सफल नहुने ठोकुवा गरे ।
सरकारले राम्रो काम गर्न सक्ने संकेत नदेखिएको भन्दै केसीले भने, ‘धानका छाँट पराल देखेर चिनिन्छ।