अबको दुई वर्षपछि दशैंमा नयाँ नोटको वितरण बन्द
काठमाडौं-दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लाग्छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन,त्यसको सट्टामा नयाँ नोट छापिन्छ,यसमा ठूलो लगानी लाग्छ। दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन्,त्यो पनि रातो रंगले रंग्याएरै। यसका कारण भर्खरै छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् ।
दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ । यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ र फेरि नयाँ नोट छाप्छ ।
नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
कार्यकारी निर्देशक निरौला चिसो तथा फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्ने बताउँछन् ।
टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन छ ।
नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । अन्य समयमा पनि मासु पसलेहरुबाट बढी नोट फोहोर हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
नयाँ नोटलाई दशैंमा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।
यसरी नोट फोहर भएका कारण राज्यको वर्षेनि ४० करोड बराबरको अनावश्यक खर्च हुँदा पनि यसबारे खासै सोचिएको थिएन । यो पटक भने राष्ट्र बैंकले दशैंमा नया नोट बाँड्ने प्रचलन पनि कायमै राख्ने/नराख्नेबारे बहस सुरु गरेको छ ।
दशैका समयमा नोट रङ्गाउने बढ्दै गएपछि राष्ट्र बैंकले अबको दुईवर्षपछि दशैंमा नयाँ नोटको वितरण नै बन्द गर्ने योजना बनाएको छ ।
नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने निरौला बताउँछन् ।
दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिएको निरौलाले बताए । यो वर्षमात्रै साना ठूला गरी ४० अर्बको नयाँ नोट दशैंका बेला बजारमा ल्याइएको छ ।
नोट सुरक्षामा जनतालेे ध्यान दिए राज्यको करोडौं रकम बच्ने बैंकरहरु पनि बताउँछन् । दशैंमा राष्ट्र बैंकले प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिँदै आएको छ ।