मोटरसाइकल दर्ता अब प्रदेशमा

काठमाडौं- अब मोटरसाइकल दर्ता प्रदेशमा हुने भएको छ। सरकारले यसअघि अञ्चलमा मोटरसाइकल दर्ता गर्ने व्यवस्था परिवर्तन गर्दै प्रदेशका नाममा दर्ता गर्ने नयाँ व्यवस्था लागू गर्न लागेको हो।

यातायात व्यवस्था नियमावली संशोधन गरिएको मन्त्रिपरिषद्को निर्णय बिहीबार राजपत्रमा प्रकाशित भइसकेकाले वाग्मती अञ्चलसहित देशभर यो व्यवस्थाअनुसार मोटरसाइकल दर्ता खुलाउने तयारी भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

असोज दोस्रो सातादेखि वाग्मती अञ्चलमा रोकिँदै आएको मोटरसाइकल दर्ता एक/दुई दिनभित्र खुलाउने र त्योसँगै देशभर नयाँ व्यवस्थाअनुसार प्रदेशका नाममा मोटरसाइकल दर्ता सुरु गरिने उनले बताए।

‘कार्यालयको कोड नम्बर लिनुपर्नेलगायत केही प्राविधिक कुरा मिलाउन बाँकी छ,’ नेपालखबरसँग उनले भने, ‘आउने सोमबारसम्म वाग्मती अञ्चलमा मोटरसाइकल दर्ता खुलाइने छ।’

बिहीबारको राजपत्रमा संशोधन भएको नियमावली प्रकाशित भएसँगै दुईपाङ्ग्रे सवारी दर्ताको बाटो खुलेको हो।

वाग्मतीबाहेक अन्य अञ्चलमा मोटरसाइकल दर्ता बन्द नरहे पनि वाग्मती अञ्चलसँगै सबै अञ्चलमा अब प्रदेशका नाममा मोटरसाइकल दर्ता गर्ने व्यवस्था लागू गरिने उनको भनाइ छ।

विभागका अनुसार अब दुईपाङ्ग्रे सवारीसाधनको नम्बर प्लेटको सबैभन्दा माथि प्रदेश ३ त्यसपछि कार्यायलको कोड ०१, लट संख्या ००१ र संकेत अक्षर प हुने छ।

बाँकी सवारी नम्बर पुरानोजस्तै ४ अंकमै हुनेछ। सवारी नम्बर ९९९९ सम्म दर्तापछि पुनः ००२–प–१ बाट सुरु हुने छ।

प्रदेश सरकारले आफ्नो प्रदेशको नामाकरण नगरेकाले पुनः प्रदेश सरकारको नामाकरणपछि नम्बर प्लेट भने परिर्वतन गर्नु पर्नेछ। अहिलेको व्यवस्थाअनुसार माथि लेखिने प्रदेश–३ को ठाँउमा प्रदेशको नामाकरणपछि सोही नाम लेख्नुपर्ने भएकाले नम्बर प्लेट परिर्वतन गर्ने झन्झट भने कायमै रहने छ।

नयाँ बनाइएको नियमावलीमा दुईपाङ्ग्रे सवारीसाधनको लट संख्या ४ डिजिटमा जान सक्ने व्यवस्था गरिएको छ। हाल ३ डिजिटको मात्र छ।

एउटा प्रदेशमा सवारीसाधन दर्ता गर्ने कार्यालय एकभन्दा बढी भएमा कार्यालयको कोड यातायात व्यवस्था विभागले दिने गरी नियाँ नियमावलीमा राखिएको छ