प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने बिहानैदेखि निश्चित
काठमाडौँ – प्रधानमन्त्री केपी ओली कार्यक्रममा उपस्थित नहुने जानकारी त्यहाँ आएका अतिथि र कार्यकर्ताहरुलाई गराइएको थिएन।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका दुई मध्ये एक अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।
प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने बिहानैदेखि निश्चित जस्तै थियो। उनी निकट तथा ने क पाका शीर्ष नेताहरुलाई यसबारेमा जानकारी थियो। तर पनि अन्तिम समय आएर मात्रै महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई प्रधानमन्त्री नआउने पुष्टि गरे।
यसअघि शुक्रबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि आकस्मिक रुपमा स्थगित गरिएको थियो। बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको भनिएको हुनाले शुक्रबार उनको स्वास्थ्य बारे कुनै जानकारी सार्वजनिक भएन।
वास्तवमा मन्त्रिपरिषद्को बैठक बस्ने समयमा प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टर लगिएको थियो।
रोग प्रतिरोधात्मक क्षमता कम भएर छातीमा इन्फेक्सन भएको रहेछ।’इमर्जेन्सीको संकेत देखिएकोले लाना साथ शिक्षण अस्पतालमा आइसियुमा राख्न बेड तयार पारिसकिएको थियो। तर एक्सरे गरेपछि आइसियुमा नराखी घरमै बस्ने र आराम गर्ने सल्लाह चिकित्सकहरुले दिए।
प्रधानमन्त्रीको स्वास्थ्य बारे जानकारी दिन उनको सचिवालयका कोही पनि सदस्य तयार भएनन्। त्यसैगरी चिकित्सकहरु पनि सूचना दिन तर्किए।
अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार रोग र स्वास्थ्यबारे सूचना दिन कडाई गर्ने निर्देशन दिइएको छ।
यद्यपि चियापान समारोहमा उपस्थित पत्रकारहरुलाई पार्टी महासचिव विष्णु पौडेलले भाइरल फिभर भएको र छातीमा समस्या भएकोले स्वास्थ्यका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए।
भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। ओलीमात्र हैन प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ।
मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार ‘डोज’ भने फरक-फरक हुन्छ। औषधिको ‘डोज’ ‘ट्र्याक रेकर्ड भेरिफिकेशन’ को आधारमा तय गरिन्छ।
त्यसैले ट्रान्सप्लान्ट गरेको सुरुवातमा हप्तै पिच्छे ‘ट्रयाक लेभल भेरिफिकेशन’गर्नुपर्छ। प्रत्यारोण पुरानो भएपछि भने ३ महिनामा एकपटक गर्नुपर्छ।
चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ।
औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।
सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ।