यस्तो रै’छ प्रचण्ड दिल्ली जानुको रहस्य

काठमाडौं÷ भारतले केही वर्ष नेपालका नेताहरु मध्ये पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बढी महत्व दिन थालेको छ । प्रचण्ड भारतविरुद्ध विभिन्न माग प्रस्तुत गर्दै जनयुद्धमा होमिए, युद्धकालमा भारतविरुद्ध लड्ने भन्दै रुकुम र रोल्पामा बङ्कर समेत खन्न लगाए । तर राजाले शासन लिएपछि आफ्नो जीउको सुरक्षाका लागि भारतमै छिरे । अनि विगतमा उठाएका मागलाई सच्च्याएर भारतमै शरण लिए । शान्ति संझौतापछि मात्र स्वदेश फर्किए । संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो । एमालेको साथमा प्रचण्ड मुलुकको प्रधानमन्त्री बने ।
प्रधानमन्त्री बनेपछि प्रचण्ड फेरि भारतविरुद्ध गर्जन थाले । नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमणमा भारत जाने परम्परा तोड्दै चीन गए । त्यहीकारण भारतसँग प्रचण्डको पुन खट्पट हुन थाल्यो । त्यही खट्पटकै कारण विभिन्न प्रकरणले प्रधानमन्त्री पद छोड्नुपर्यो ।
भारतसँगको खट्पटकै कारण प्रधानमन्त्रीबाट च्यूत हुनु परेपछि प्रचण्डलाई निकै पछुतो भयो । त्यो पश्चाताप मोचन गर्न दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने उनी भारतभक्त हुन पुगे । त्यसपछि भने प्रचण्डको भारतसँगको सम्बन्ध सुध्रिएको छ । भारतले पछिल्लो समय नेपालका अन्य नेताहरुको तुलनामा प्रचण्डलाई बढी महत्व दिन थालेको छ । हरेक कार्यक्रममा प्रचण्डलाई बोलाउन थालेको छ ।
प्रचण्डले यस पटक २ महिनाको अन्तरालमा २ चोटी भारत भ्रमण गरिसकेका छन् । प्रचण्ड शुक्रबार एक दिनका लागि दिल्ली गएर फर्केका छन् ।
यसपटक कुनै औपचारिक भ्रमण नभई प्रचण्डलाई सत्तापक्ष भारतीय जनता पार्टी (बिजेपी) का महासचिव राम माधव संलग्न इन्डिया फाउन्डेसनको कार्यक्रममा अतिथिका रुपमा बोलाइएको हो । बिहान पौने १० बजे दिल्लीको लागि उडेका प्रचण्ड शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमका कारण शुक्रबार राति नै फर्केका छन् ।
यता भाकपाका नेता सीताराम येचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललाई भेटेका छन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अतिथि बने । नेकपाले शनिबार आयोजना गरेको चियापानमा सहभागी भए । यचुरी नेपालमा रहेर राजनीतिक भेटघाटमा रहँदा पार्टी अध्यक्ष प्रचण्डलाई भारतले किन हतारमा निम्तो ग¥यो ? भारत र प्रचण्डले नै जान्ने विषय बन्यो, त्यो रहस्यमय छ ।
भारतले प्रचण्डलाई पटक पटक बोलाएर उनीमार्फत सरकार र प्रधानमन्त्री ओलीलाई ड्यासिङ दिन खोजेको हुन सक्छ । खासगरी २ नम्बर प्रदेशका विभिन्न जिल्लामा हिन्दू र मुस्लिम समुदायबीचको विवाद, मधेसवादी दलहरुले छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर चर्काउने आन्दोलन र त्यसमा जोडिएको हिन्दू मुस्लिम विवादपछि सम्भावित भवितव्यबारे सचेत गराउने भारतको मनसाय हुन सक्छ । यसका लागि भारतले उपयुक्त पात्रका रुपमा प्रचण्डलाई अतिथिका रुपमा बोलाएको अनुमान गरिएको छ । प्रचण्ड यसअघि भदौ २१ गते भारत गएका थिए । उनको ६ दिने भ्रमण अवधि छोटिएर ३ दिन बनेको थियो । २३ भदौमै उनी भ्रमण छोट्याएर पार्टी बैठकमा आएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी पाँचौपटक नेपाल आउने तयारीमा छन् । सन् २०१९ मा भारतमा हुने निर्वाचनमा अत्यधिक बहुमतसहित कांग्रेस परास्त पार्ने मोदी सरकार अर्थात् बिजेपीको योजना छ । सन् २०२४ मा हुने निर्वाचनमा कांग्रेसमुक्त भारत बनाउने लक्ष्य बिजेपीको छ । तर यसका लागि उसलाई छिमेकी राष्ट्रको पनि उस्तै समर्थन र साथ चाहिन्छ । त्यसैले भारतीय प्रधानमन्त्री मोदी नोभेम्बरको २८ र २९ मा नेपालमा पाँचौँ भ्रमणको तयारीमा छन् ।
नेपालमा भने प्रदेश २ मा प्रहरी भर्नाका लागि प्रदेश सरकारले बनाएको कानुनबारे केन्द्र सरकार र प्रदेश सरकारबीच मतभेद छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मुस्लिम समुदायका हुन् । भारतले रुचाएको मधेसवादी दलका नेताहरुमा मुस्लिम नेता रुचिको पात्र बन्न सकेको छैन । केन्द्र सरकारलाई चुनौति दिँदै प्रदेश सरकारको अधिकारको विषय भन्दै प्रहरी भर्नाको विषयमा केन्द्र सरकारसँग बढाएको मतभेद समाधान नभइरहेका बेला छठपछि मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्कँदा मोदीको भ्रमण के होला ? भारत र नेपालबीच सम्बन्ध सुमधुर हुन सकेन भने यसको असर मोदी सरकारलाई लगत्तै हुने निर्वाचनमा पर्नेछ । त्यसैले बिजेपीको महासचिव नै आवद्ध संगठनका नाममा प्रचण्डलाई बोलाएर विवाद मत्थर पार्न र सम्बन्ध सुधार्न भारतले चाहेको देखिन्छ ।