राष्ट्रपति भण्डारी भोलि कतार जाँदै

काठमाडौं÷ राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार(भोलि) कतार जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् ।
भ्रमणको क्रममा कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा राष्ट्रपति भण्डारी र कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरबीच शिष्टाचार भेटघाट हुनेछ । राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यसदिन कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन् । राष्ट्रपति भण्डारीसँग भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुने छन् । राष्ट्रपतिसहितको टोली कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।