आफ्नै पतिले इच्छाविपरीत यौनसम्पर्क राखेको भन्दै पत्नीले दिईन पति विरुद्ध उजुरी
कञ्चनपुरको- भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै उजुरी दिएकी हुन् ।
डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गरायो । ‘उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बतायो ।
कञ्चनपुर प्रहरीले सोमबार नै उनको उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेका थिए । उनीहरू सँगै बस्दै आएका थिए । यसअघि सम्बन्ध राम्रै भएको प्रहरीसँगको बयानमा मञ्जुले बताएकी छिन् ।
मञ्जुले उजुरी दिएपछि प्रहरीले उनका पति डम्बरलाई पक्राउ गरेको छ । उनलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरिएको जनाएको छ । उजुरी दर्ता गरिएलगत्तै डम्बरलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी कार्यालयले जानकारी गरायो।
यस्तो छ वैवाहिक बलात्कारको कानुनी व्यवस्था
२०७५ साल भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिताले वैवाहिक बलात्कारलाई पनि स्वीकार गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०६४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था गरिएको छ । दफा २१९ को उपदफा ४ मा सजायको व्यवस्थासमेत गरिएको छ । यसमा भनिएको छ, ‘वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।’
श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका डम्बरलाई अनुसन्धानका लागि थुनामा राख्न कञ्चनपुर जिल्ला अदालतबाट अनुमति लिइएको छ । अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गरायो ।