प्रधानमन्त्रीलाई काममा फर्कनको हतारो
काठ्माण्डौ -प्रधानमन्त्रीको उपचारको नेतृत्व गरिराखेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. अरुण सायमीले भने, (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्।
‘प्रधानमन्त्रीलाई अझै एक/दुई दिन अस्पताल मै राख्छौं। उहाँ त जान हतार गरि राख्नुभएको छ। भर्खरै भन्नुभयो- मलाई पर्सि त काममा जान दिनुहोला नि।’
‘फकाइफुल्याइकन हामीले भनेको मान्नुस् पठाउँछु भनेका छौं। उहाँलाई पूरा निको बनाएर मात्रै पठाउने हाम्रो कोसिस रहन्छ।’
प्रधानमन्त्रीको स्वास्थ्य अस्पताल भर्ना गर्दा (सोमबार विहान ४ बजे)को भन्दा सुधार भएको उनले बताए।
‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्य हिजोभन्दा धेरै सुधार आएको छ। ज्वरो, रूघाखोकी हटेको छ,’ सायमीले पत्रकारसँग भने, ‘आज त ब्रेकफास्ट खानुभयो। तपाईंहरूले फोटो खिच्न खोज्नुभएको थियो नि, उहाँ दाह्री काटेर चट्ट ह्यान्सम हुनुभएको छ। सास फेर्न अप्ठेरो थियो सजिलो हुँदै गएको छ।’
प्रधानमन्त्री उपचारमा रहेको फोटो सार्वजानिक भएको छैन। प्रधानमन्त्रीको नियमित हेरचाह गर्ने, औषधी परिवर्तन गर्ने र चेकजाँच गरी रिपोर्ट हेर्ने काम डाक्टर सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह र शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासको टिमले गरेको छ।
‘प्रधानमन्त्रीको मुटु र मृगौलाको अवस्था राम्रो छ। छातीको संक्रमण पनि अहिले ठीक हुँदै गएको छ,’ उनले भने, ‘ब्याक्टेरिया मार्ने एन्टिबायोटिक औषधीले काम सुरु गरिसक्यो।’
उपचारमा खटिएका चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीलाई रोगले भन्दा पनि ब्यस्तताले गलाएको हो।
‘उहाँको प्रमुख समस्या रोगभन्दा पनि अति व्यस्तता हो। प्रधानमन्त्री भएपछि व्यस्त त हुनुपर्यो। दशैंमा टीका लगाइदिँदा धपडी भएछ,’ सायमीले भने, ‘सकेसम्म हामीले घरमै गएर उपचार गर्ने कोसिस गरेको हो। बालुवाटारमा राख्दा त्यही दिन झन् क्याबिनेट बैठक बस्यो। बैठकहरू भइराख्ने भए। त्यही भएर अस्पताल नै ल्याइयो।’
कम्तिमा एक साता प्रधानमन्त्रीलाई आराम चाहिने उनले बताए।
‘उहाँलाई आरामको जरुरी छ। हुलमुलमा जान हुन्न,’ सायमीले भने, ‘प्रधानमन्त्री आँटिलो त हुनुहुन्छ। तर उहाँले कम्तिमा एक साता रेष्ट गर्नुपर्छ। कार्यक्रमहरू, बैठकमा भाग लिन हुन्न।’ संक्रमण हटाउन एक साता एन्टिबायोटिक चलाइने उनले बताए।
प्रधानमन्त्रीलाई भेट्न अस्पतालमा पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पार्टी तथा प्रतिपक्षी दलका नेता/कार्यकर्ता पुगिरहेका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीको चेकजाँच नभएका बेला परिस्थिति हेरेर नेताहरूलाई भेट्न दिइएको छ।
आज पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र कांग्रेस नेता कृष्ण सिटौलाले प्रधानमन्त्रीलाई भेटेका छन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानूनमन्त्री भानुभक्त ढकाल र पूर्वमन्त्री विक्रम पाण्डे प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेर फर्किए।
भेटेर फर्किएपछि भट्टराईले प्रधानमन्त्रीसँग दोहोरो कुराकानी भएको बताए।
‘प्रधानमन्त्री हँसमुख हुनुहुन्छ,’ भट्टराईले भने।
केही दिनयता रूघाज्वरोसँगै खोकीले बिरामी भएका प्रधानमन्त्रीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो।