हत्यारालाई पक्राउ नगरेसम्म शव उठ्दैन- अमरेश सिंह
काठमाडौं-सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ,उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए ।त्यही विषयलाई लिएर मंगलबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएपछि स्थिति तनावग्रत बनेको छ ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले रामनगर ४ को झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताएका छन् ।दिउँसो घटनास्थलमा पुगेका कांग्रेस सांसद सिंह भन्छन्,हिजो वडाध्यक्षलाई कुटिएको छ। आज उनकै घरमा आक्रमण गरेर गोली हानेर मान्छे मार्ने काम भएको छ ।
उनले अघि भने,मेरो माग प्रष्ट छ,म जनताको प्रतिनिधि हुँ । घटनामा संलग्नहरुलाई पक्राउ गरेर कारबाही नगरेसम्म शव उठ्दैन । आन्दोलन गर्छु,धर्ना दिन्छु ।मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई राहत दिनुपर्नेसमेत उनले बताएका छन् ।