पद्मरत्नलाई भेट्न सभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल

काठमाडौ- सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

बुधबार नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन्।

अस्पताल पुगेका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए। सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै तुलाधरको स्वास्थ्य लाभको कामना गरेका थिए।

अन्नपूर्ण न्यूरो अस्पतालबाट मंगलबार बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ।