पर्यटन विभागद्वारा ६६ करोडको राजश्व संकलन

काठमाडौं– पर्यटन विभागले आर्थिक वर्ष २०७३–७४ मा ६६ करोड बढीको राजस्व संकलन गरेको छ ।

विभागले गत आर्थिक वर्षको असार मसान्त सम्ममा पर्वतारोहण, क्यासिनो र एजेन्सी दर्ता तथा नविकरणबाट ६६ करोड २३ लाख ४८ हजार ४ सय ९२ रुपैयाँ संकलन गरेको विभागका निर्देशक दुर्गादत्त ढकालले जानकारी दिए ।

उनका अनुसार पर्वतारोहणबाट ३९ करोड ३४ लाख ९८ हजार ५ सय २२,क्यासिनो रोयल्टीबाट २१ करोड ५६ लाख १० हजार, एजेन्सी दर्ता, नविकरण र अन्य गरी ५ करोढ ३२ लाख, ३९ हजार ९ सय ६० रुपैयाँ संकलन गरिएको हो ।

हालसम्म २ सय ८५ पर्वतारोहण, ३ हजार १ सय ३२ ट्राभल एजेन्सी, २ हजार ३ सय ५९ ट्रेकिङ एजेन्सी,७३ ओटा -याफ्टिङ एजेन्सी, पर्यटन व्यवासाय र ५ओटा क्यासिनोहरु पर्यटन विभागमा दर्ता भई संचालनमा छन् ।

स्थानीय तहको निर्वाचनले राजनैतिक अस्थिरताको कम हुने भएपछि अब नेपालमा विदेशी पर्यटकको आवागमन बढ्ने विभागका निर्देशक ढकालले बताए । उनले भने,‘ देशमा राजनैतिक स्थिरता कायम रह्यो भने पर्यटकहरु बढ्छन् । अहिले पर्यटन व्यवसाय राम्रो छ । ’पछिल्लो समय पर्यटकिय व्यवसाय दर्ता गर्नेहरु बढेको पनि उनले जानकारी दिए ।

विभागले विभिन्न स्थानमा रहेका पर्यटकिय व्यवासयहरुको संचालन र गतिविधिको समयसमयमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा दर्ता नभएका व्यवसाय भेटिएमा लिखिल रुपमा दर्ता गर्न निर्देशन दिने गरको विभागका निर्देशक ढकालको भनाइ छ ।

उनले भने,‘ अनुगमनको क्रममा पनि दर्ता नभई संभालनमा रहेका व्यवसाय आकल झुकल मात्र भेटिएको थियो । दर्ता नगरी संचानल गर्ने व्यवसायीलाई हामीले भनेपछि उहाँहरुले अहिले दर्ता गरिसक्नु भएको छ ।’