विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा फर्किने
काठमाडौं- राजनीतिक आवरणमा धम्की र असुलीको राजनीति गर्दै आएको नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा फर्किएको छ ।
सरकार आक्रामक भएपछि उ शान्तिपूर्ण राजनीतिमा फर्कन लागेको हो । सो पार्टीले मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ। भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सो जनसभामा विप्लव पनि सार्वजनिक हुने बताइएको छ ।
यद्यपी उनीविरुद्ध मुद्दा रहेकाले उनी फरार छन् । तर, शान्तिपूर्ण राजनीतिमा आउने सर्तमा उनलाई पक्राउ नगर्ने आश्वासन सरकारी अधिकारीहरुले बताएका छन् ।
आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए।
उनले भने– ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ। युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं।’
नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ। सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
विश्वकर्माविरुद्ध सरकारले विभिनन जिल्लामा मुद्दा चलाएपछि सो पार्टीका नेताहरु डराएका थिए । विप्लवविरुद्ध पनि विभिन्न जिल्लामा मुद्दा विचाराधिन छ । सो पाटीसँग सरकारले पूर्व सांसद सोम पाण्डेको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ ।
वार्ताका लागि भन्दै सो समितिले विप्लवका नेताहरुलाई पक्राउ नगर्न आग्रह गर्दै आएको छ । विश्वकर्मा पक्राउ परेपछि सो पार्टीले विष्फोटका गतिविधि पनि रोकेको छ ।