चीनको बढ्दो औद्योगिक जासुसी कार्यको सामना गर्न अमेरिकाले नयाँ कदमको शुरुवात

बीबीसी- अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चीनको बढ्दो औद्योगिक जासुसी कार्यको सामना गर्न नयाँ कदमको शुरुवात गरेको बताएका छन्।

अमेरिकी न्याय मन्त्रालयले चीन तथा ताइवानका तीन व्यक्ति तथा दुई कम्पनीले अमेरिकी कम्पनीहरूका गोप्य व्यापारिक सूचना चोरेको जनाएको छ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चीनको बढ्दो औद्योगिक जासुसी कार्यको सामना गर्न नयाँ कदम चालिएको बताएका छन्।

चीनको त्यस्तो जासुसी अमेरिकाको आर्थिक समृद्धि र प्रतिस्पर्धी क्षमतामाथि साँच्चिकै खतरा भएको भन्दै उनले अमेरिकाले अब त्यो नसहने बताएका छन्।

चीनले अमेरिकाको विश्वासिलो साझेदार बन्न चाहेको वा भ्रष्ट अर्थतन्त्र चलाउने बेइमान बन्न चाहेको भन्नेबारे निर्णय गर्नु पर्ने उनले बताए।बेइजिङले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

सेप्टेम्बरयता मन्त्रालयले चीनस्थित कम्पनी तथा व्यक्तिहरूमाथि आर्थिक जासुसीको मुद्दा अघि सारेको यो चौथो घटना हो। पछिल्लो घटनामा ती कम्पनी तथा व्यक्तिहरूले एक सय अर्ब डलर मूल्य भएको अमेरिकी सेमिकन्डक्टर कम्पनी माइक्रोनको गोप्य व्यापारिक सूचना चोरेको अभियोग लगाइएको छ।

ती सूचना आइडाहोस्थित माइक्रोन कम्पनीको डाइनामिक र्‍यान्डम एक्सेस मेमोरी स्टोरेज डिभाइससँग सम्बन्धित रहेको बताइएको छ। ती दुईमध्ये एक चिनियाँ कम्पनी फुजियान जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी चिनियाँ सरकारी स्वामित्वमा छ।

गत वर्ष पनि माइक्रोनले आफ्नो गोप्य जानकारी चोरेको आरोपमा फुजियान तथा ताइवानी कम्पनी युनाइटेड माइक्रोइलेक्ट्रिक्सविरुद्ध मुद्दा हालेको थियो।

यो वर्ष विश्वका दुई आर्थिक महाशक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापारिक तनाव चर्किएको छ। दुवैले एक अर्कामाथि चर्का आयात कर लगाएका छन्। ट्रम्प प्रशासनले दुई सय अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाइदिएको छ।

प्रतिक्रियामा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी आयातमा कर थोपरिदिएको छ। ट्रम्पले आफ्ना ती कदमहरूका कारण रुष्ट चीनले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको पनि आरोप लगाएका छन्।