कठाग्रिंयो नेकपाको एकीकरण
विकासमा राजनीति नगरौं : प्रचण्ड
काठमाडौं÷ केही दिनयता मुलुकमा चिसो बढ्दै गएको छ । बढ्दो चिसोले जनजीवन बिस्तारै कठाग्रिंने स्थिति बन्दै गएको छ । त्यस्तै पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी तल्ला कमिटीहरु पनि कठाग्रिंन पुगेको छ । केन्द्रमा एकीकरण भएको ५ महिना बित्दा पनि प्रदेश तथा जिल्ला कमिटी गठन र जनवर्गीय संगठन एकीकरण हुन् सकेको छैन । एमाले र माओवादीले केन्द्रको एकीकरण प्रकृयासँगै अघिल्लो वर्ष फागुन ७ गते तल्लो तहका सबै कमिटी विघटन गरेका थिए । विघटन भएको ९ महिनासम्म पनि नयाँ कमिटी गठन नहुँदा तल्ला कमिटी अन्यौलमा परेको हो ।
शीर्ष नेताहरुबीचको आन्तरिक किचलोले तल्ला कमिटी एकीकरण लम्बिँदै गएको छ । पछिल्लो पटक प्रधानमन्त्री के.पी ओलीको स्वासथ्य समस्याले एकीकरण केही समय घर्काएरको छ । उहाँ उहिले स्वस्थ हुनु भएको छ तर नजिकिँदो तिहारले त्यसमा असर पार्ने देखिएको छ ।
भूगोलका ७७, विशेषका ५ गरी नेकपाले बनाउन लागेका ८२ पार्टी जिल्ला कमिटीमध्ये जिल्ला तथा प्रदेश तहमै ४८ जिल्ला कमिटीको भागबन्डा टुंगो लगाइसकेको छ । टुंगिएकामध्ये २७ वटामा तत्कालीन एमाले र २१ वटामा तत्कालीन माओवादीले जिल्ला अध्यक्षको जिम्मेवारी भागबण्डा लगाएका छन् ।
प्रदेश तथा जिल्ला कमिटी निर्माणको लागि बनाइएका कार्यदलले प्रतिवेदन बुझाउन गरिरहेको छ । तर त्यही बिषयमा शीर्ष नेताहरुबीच कुरा नमिलेपछि निर्णय अन्यौलमा परेको छ । प्रदेश तथा जिल्लाबाट आएको सिफारिसमा केन्द्रीय सचिवालयकै कुरा नमिल्दा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । यसअघि १२ र १३ गतेको लागि तोकिएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ तर अर्को मिति भने घोषणा भएको छैन । स्थायी कमिटी बैठक अब तिहार अगाडि बस्न सक्ने स्थिति छैन । त्यसकारण तल्लो कमिटीको छिनो फानो मंसिर अगाडि हुन सक्ने अवस्था देखिएको छैन ।
विकासमा राजनीति नगरौं : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिकास निर्माणमा राजनीति नगर्न सम्वन्धित सबैलाई आग्रह गरेका छन् ।
बुटवलमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन आएका प्रचण्डले भैरहवा बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताए । सवैको चासो रहेको अन्तर्राष्ट्रिय विमानस्थलको काम गुणस्तरीय हुनुपर्ने पनि प्रचण्डले बताए ।
गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको वताउँदै प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने आश्वासन पनि दिएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सकिएको बताइएको छ । आगामी सन् २०१९ को अगष्टसम्ममा सञ्चालनमा आउने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले बताएका छन् ।
अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुगेका थिए ।
त्यस्तै चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले सरकार गठनपछिको केही समय अप्ठेरो रहेपनि अव त्यो अन्त्य भएकाले सरकारको कामको गति तीव्र हुने दावी गरेका छन् ।
सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरेका छन् । उनले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै सबैले सहयोग गर्नुपर्ने पनि बताए ।
पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार गलत भएको बताए । चीनसँगको पारवाहन सम्झौंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बनेको दावी पनि प्रचण्डले गरे ।