चियाले मेटाएन गुटको खिया

महासमिति वैठक ः सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं÷ नेपाली कांग्रेसले राजनीतिमा मेलमिलाप अवसरको रुपमा हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्दै आएको छ । मुलुकमा पंचायती व्यवस्था लागू भएपछि भारतमा बसेर राजतन्त्रविरुद्ध आन्दोलनको योजना बुनिरहेका जननायक बिपी कोइराला २०३३ सालमा राजासँग मेलमिलाप गर्ने नीति लिएर फर्के । त्यसपछि उनलै राजनीतिकमा विभिन्न पक्षबीच मेलमिलाप हुनुपर्छ भनेर २०३५ सालदेखि कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गरे । कांग्रेसले चियापानलाई त्यसपछि पनि निरन्तरता दिँदै आयो । चियापानलाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएको छ । पूर्वमन्त्री तथा नेता चक्रप्रसाद बास्तोलाको निधनको कारण यस वर्ष भने चियापान कार्यक्रम कोजाग्रत पूर्णिमाबाट सारेर शुक्रबार गरिएको हो ।
केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको निक्कै भीड देखिन्थ्यो । त्यो खचाखच भीडमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकमात्रै थिएनन् । काँग्रेसले चियापानमा एक लाख जनालाई निम्ता बाँडेको जनाएको थियो ।
विभिन्न राजनीतिक दलका नेता, सांसद, संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, उद्योगपति, पेशाकर्मी, नागरिक समाजका अगुवा पनि थिए ।
कांग्रेसले दशैं, तिहार, छठपर्वको अवसरमा गरेको चियापान कार्यक्रमको उपस्थिति हेर्दा लाग्थ्यो सिंगो देशको प्रतिनिधित्वि थियो । चियापानमा आएका शीर्ष नेताहरुले छोटो(छोटो प्रतिक्रिया दिए । तर सञ्चार माध्यममा भने कांग्रेस नेताहरुको भन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हावी भए ।
चियापान समारोहमा जब पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आए तब कार्यक्रमको माहोल नै फेरियो । प्रचण्ड आउना साथ उनलाई पत्रकारले घेरे अनि प्रतिक्रिया लिन खोजे । तर प्रचण्डले शुरुमा पत्रकारको आग्रह इन्कार गरे ।
उनको स्वागतमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, चित्रलेखा यादवलगायतका कांग्रेसका शीर्ष नेताहरु लामवद्ध भएर उभिएका थिए । प्रचण्डले कांग्रेसका ती सबै नेतासँग हात मिलाए अनि शुभकामना आदानप्रदान गरे । त्यसपछि बल्ल पत्रकारलाई प्रतिक्रिया दिए । प्रचण्डले विगतमा पनि कांग्रेस(कम्युनिस्ट मिल्दै आएको र अब पनि मिलेरै आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । ‘सानो चित्त गर्न भएन । नेपाली कांग्रेससँगै मिलेर शान्ति प्रक्रियामा आएका हौं’, अब देशको आर्थिक समृद्धि पनि सबै मिलेर गर्नुपर्छ’, प्रचण्डले भने ।
उनले राजनीतिक दलहरुले मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको उल्लेख गरे । ‘हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट अपिल गर्न चाहन्छु’ उनले भने ।
चियापानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ पुगेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी पनि चियापानमा पुगेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायतले चियापानमा सहभागी हुन आएका पाहुनाको स्वागत गरेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपीको मेलमिलापको नीति नै देश अगाडि बढिरहेको जिकिर गरे । ‘अहिले पनि देशमा मेलमिलापको आवश्यकता छ’, देउवाले भने, मिलेरै जानुपर्छ ।’
काँग्रेस पछिल्लोसमय गुटले ग्रस्त हुँदै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्वत्र पराजय व्यहोर्नुपरे पछि त्यसको दोष एक अर्कोलाई लगाउँदै नेताहरुले गुटबन्दी झन् चर्काइरहेका छन् । यस पटकको चियापानबाट पार्टीमा गुटबन्दी कम हुने कार्यकर्ताको आशा दियो । जिल्ला स्तरीय नेता तथा कार्यकर्ताले चियाले गुटको खिया फाल्ने आश गरेका थिए । तर त्यो आशा पूरा हुने संकेत देखिएको छैन ।

महासमिति वैठक ः सर्ने निश्चित, मिति अनिश्चित
नेपाली कांग्रेसको महासमिति वैठक मंसिर ५ देखि ९ गतेसम्म नहुने निश्चित प्रायः भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग भएको भन्दै बैठक सर्ने निश्चित भएपनि वैठक कहिले गर्ने भन्ने मिति अझै निश्चित भएको छैन ।
महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको एक नेताले बताएका छन् । विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५–२० समय आवश्यक रहेकाले मंसिर अन्तिमतिर वैठक वस्न सक्ने एक नेताले बताएका छन ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने बैठक सार्ने औपचारिक निर्णय नभएको बताएका छन् । तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकले सार्ने÷नसार्ने बारेमा छालफल गर्ने र सार्नुपर्ने भएमा कहिले गन्ने भन्ने मिति पनि टुंगो लगाउने बताएका छन् ।
कांग्रेसले नयाँ विधान बनाएको छ । महासमितिले अनुमोदन गरेपनि त्यो कार्यान्वयन हुनेछ । तयार पारिएको नयाँ विधानको मस्यौदालाई पार्टीभित्र तीव्र विवाद र वहस भइरहेको छ । दुई प्रकारको सदस्यता व्यवस्था हटाउँदै एउटै सदस्यता बनाउने विधान मस्यौदा समितिले सिफारिस गरेको छ भने सो कुरा लागू भएको खण्डमा हाल कायम रहेको साधारण सदस्यता र क्रियाशिल सदस्यताको व्यवस्था स्वतः हट्ने छ ।
केन्द्रदेखि वडातहसम्म पार्टीलाई पुनर्जीवित गर्ने हिसावले संगठनात्मक स्वरुप बनाउन खोजिएको छ । केन्द्रीय नेताहरुलाई प्रदेश र तल्लो तहसम्म सक्रिय गराउन वातावरण बनाउन खोजिएको छ । जनसंख्याको आधारमा केन्द्रदेखि गाउँतहसम्मको सहभागिता सुुनिश्चित हुने गरी लाखौ कार्यकर्तालाई समेट्ने बाटो खोजिरहेको छ । तीन तहको चुनावमा पार्टीका उम्मेदवारहरु परास्त भएपनि समानुपातिकतर्फ कांग्रेसले तत्कालिन एमालेकै हाराहारीमा मत ल्याएर पार्टीका सदस्य र समर्थकहरु विचलित भइसकेका छैनन् भन्ने सन्देश दिएको थियो ।
कांग्रेसको संसदीय समितिमा हाल ८५ जना रहने व्यवस्था छ भने त्यसमा पनि पुनर्विचार गर्न नेता÷कार्यकर्ताहरुले दवाव दिएका छन् । महासमिति र महाविधेशन प्रतिनिधिको संख्या, काम, कर्तव्य र अधिकारलगायत भ्रातृ तथा शुभेच्छुक संगठनको स्वरुप एवं विभिन्न विभागका बारेमा समेत नयाँ व्यवस्था गर्न लागिएको छ ।
पार्टी सभापतिलाई शक्तिशाली बनाउन खोजिएको भन्दै संस्थापनइतरका नेताहरुले चर्कै विरोध गरेका छन् । विधानका बारेमा मत बाझिएपछि संस्थापन पक्ष र आलोचकहरुका प्रस्ताव समेटेर अन्तिम मस्यौदा बनाइएको र केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरेपछि अधिकांस विषय टुंगो लाग्ने नेताहरुले बताएका थिए । तर विधानबारे छलफलका लागि समय पुगेन भनेर महासमिति वैठक सार्ने तयारी गर्नुले विवाद अझै मिलि नसकेको प्रष्ट भएको छ ।