पत्रकार सुरक्षा गर्न बन्दैछ निर्देशिका
काठमाडौं÷ मुलुकमा पछिल्लो समय पत्रकारमाथि आक्रमण, कुटपिट र धम्की दिने क्रम बढेको छ । समाचार प्रसारण÷प्रकाशितको बिषयलाई त्यस्तो हुन थालेपछि पत्रकारहरु चिन्तित हुन थालेका छन् । पत्रकारहरुमा सुरक्षा चिन्ता बढेको छ ।
पत्रकारहरु असुरक्षित हुन थालेपछि उनीहरुको सुरक्षाको लागि छुट्टै निर्देशिका बनाउन लागिएको छ । निर्देशिका राष्ट्रिय मानवअधिकार आयोगले बताउन लागेको हो । आयोग अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षा निर्देशिका बनाउने तयारी भइरहेको जानकारी गराएका छन् । आयोगले निर्देशिका कस्तो बनाउने ? त्यसमा के के बिषय समेट्ने भन्ने बारे अहिले विभिन्न पक्षसँग सुझाव लिएको छ ।
त्यसको लागि काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरिएको थियो । फ्रिडम फोरमद्वारा ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा निर्देशिकाको मस्यौदामाथि छलफल गरिएको छ ।
छलफलमा अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको जानकारी गराइन । मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दीगोपन भएको उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताए । वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाल लगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गनेतिर उन्मुख हुनुपर्नेमा जोड दिए ।