सडक संघर्षको तयारीमा नयाँ शक्ति
काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको शुक्रबार काठमाडौंमा सम्पन्न १५ औं संघीय कमिटीको पूर्ण बैठकले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ । सरकार जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको बताइएकोछ ।
निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनुपरेको संयोजक डा.भट्टराईले बताएका छन् ।
राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने माग गरेको छ । नयाँ शक्तिले सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान सञ्चालन गर्न लागिएको पनि डा. भट्टराईले बताएका छन् ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तका हत्यारालाई अविलम्व पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छ ।