अर्वपतिका मजदुर पेश्की नपाउँदा आन्दोलित

नवलपरासी, कात्तिक २० । अर्वपति विनोद चौधरीको उद्योगमा काम गर्ने मजदुरहरुले आन्दोलन शुरु गरेका छन् । तिहार मान्नका लागि पेश्की नदिएपछि उनीहरुले आन्दोलित भएका हुन् ।
अघिल्लो वर्षहरुमा तिहार मान्न पेश्की रकम दिने गरेपनि यसपटक नदिएपछि आन्दोलनमा उत्रिनु परेको मजदुरहरुले बताएका छन् । उनीरुले सोमबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म उद्योग बन्द गरेको अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर युनियनका अध्यक्ष गोपाल बस्नेतले बताएका छन् ।
दशैंपछि पनि मजदुरहरुले काम गरिरहेको र तिहार मान्नका लागि अग्रिम तलब माग गर्दा समेत नदिएपछि आन्दोलन गर्न वाध्य भएको अध्यक्ष बस्नेतले बताएका छन् ।
अध्यक्ष बस्नेतले सांकेतिक रुपमा ७ घण्टा उद्योगका सबै काम ठप्प पारेको बताए । प्रशासनले छलफलका लागि बोलाएको बताउँदै अध्यक्ष बस्नेतले मजदुरलाई पेश्की नदिए उद्योगको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
चौधरी उद्योग ग्राम दुम्कौलीका वरिष्ठ महाप्रबन्धक रामभक्त केसीले दशैंमा नै पेश्की रकम, बोनस र तलब दिएकाले अहिले नदिएको बताएका छन् ।
दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा १८ सय मजदुर कार्यरत रहेको बताइएको छ ।