नेविसंघको नेतृत्वः कसले मार्ला बाजी ?
काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संगठन यतिबेला कोमामा पुगेको छ । आन्तरिक कलह, समयमै महाधिवेशन गर्न नसक्नु, उमेर विवाद वढ्दै जानुले नेविसंघ भित्र समस्या आएको हो ।
भोलीदेखि विधिवत रुपमा नेविसंघ विघटन हुने छ । अब नेविसंघ कसरी जाला र माउ पार्टीले के गर्ला यो सबैतिर चासो र चर्चाको विषय बन्न थालेको छ ।
विद्यार्थी नेताहरु अहिले अधिवेशन हुन नसक्नुको आरोप प्रत्यारोप एक अर्कालाई थेपर्दै गएका छन् भने माउ पार्टीले खेल्ने भूमिका खेल्न नसकेको दोष दिइरहेका छन् ।
यो समय महाधिवेशन सकेर नयाँ नेतृत्वले काम गरिरहनु पर्ने हो तर आफु भित्रको गुठ उपगुठ, उमेर हद, विधानको विषयमा आरोप प्रत्यारोपले आफैभित्र शिथिल हुन पुगेको नेविसंघ कोमामा पुगेको छ ।
विद्यार्थी नेताहरु पार्टीको मुख हेरेर टुलुटुल बस्नुको विकल्प देखेका छैनन् भने पार्टीले पनि ठोस आधार दिन सकेको छैन । आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ विशेष गरेर नेविसंघको मुद्धामा छलफल गर्ने योजनाका साथ यहि बैठकलाई आज नेविसंघले आफ्नो भविष्य खोजिरहेको छ ।
पछिल्लो समय नेविसंघमा अवको नेतृत्व कसको भन्ने छलफल पनि ब्यापक रुपमा देखिएको छ । पार्टीमा जसरी गुटहरु छन् त्यसरी नै विद्यार्थी नेताहरु त्यसैको लंगुर बनेका छन् । सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला निकट विद्यार्थीहरु अध्यक्षको दावेदारका रुपमा स्पष्ट वाहिर आएका छन् ।
अवको दावेदारी कस–कसको ?
११ औं महाधिवेशमा महामन्त्री रहेका कुन्दनराज काफ्ले र सरोज थापा अध्यक्षको रुपमा आफुलाई दावी गर्दै आएका छन् । काफ्ले सिटौला र थापा शेरबहादुर निकट मानिन्छन् भने रामचन्द्र पौडेल पक्षधर मानिदै आएका गुल्मीका मोतिलाल भण्डारी पनि आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका छन् ।
अव पार्टीले कसरी निणर्य गर्छ र कसरी आफु अध्यक्ष बन्ने भन्ने दाउमा रहेका यी तीन नेताहरु अहिले नेता र विद्यार्थीहरुलाई रिझाउनमा नै व्यस्त छन् ।
यसरी एउटा विद्यार्थी संगठन जो नितान्त रुपमा विद्यार्थीका हक हित र शैक्षिक मुद्धाहरुलाई बोक्नुपर्ने समयमा आफैभित्र यसरी प्रतिस्पर्धा गर्नुलाई कसरी र कुन अर्थामा हेर्ने यो समयले नै बताउँदै जाला ।
लोकतान्त्रिक पद्धतीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर अस्वस्थ प्रतिस्पर्धाले भोलीको बाटो कसरी तय होला यो बुझ्नु आवश्यक छ ।