आरोप–प्रत्यारोपमै अल्झियो कांग्रेस

आर्थिक नीति परिवर्तन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक झगडाका कारण तीन तहको निर्वाचनमा पराजय भोग्नु परेको विश्लेषण गरेपनि त्यसको जिम्मा लिन कोही तयार देखिदैनन् । सभापति शेरबहादुर देउवाले आपसको झगडाले चुनावमा हार्नु परेको बताउँदै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबै जिम्मेवार रहेको तर्क गरिरहेका छन् । तर अधिकांस नेताहरु देउवाको कमजोरीका कारण पार्टी पनि कमजोर भएको आरोप लगाउँदै आएका छन् ।
नेपाली कांग्रेसको भविष्यबारे पार्टीकै विभिन्न नेताले चिन्ता व्यक्त गरिरहेका छन् । नीति स्पष्ट नभएको, कार्यकर्ताको भावना बुझ्न नसकेको, भारतले अघोषित नाकाबन्दी गर्दा पनि राष्ट्र र जनताको पक्षमा पार्टी मौन बसेको र जनभावना अनुसार अघि बढ्न नसकेको कांग्रेसमाथि आरोप लाग्ने गरेको छ ।
कम्युनिष्ट विरोधी भनेर अन्तर्राष्ट्रिय समुदायले प्रजातान्त्रिक समाजवादको टाँचा लगाइदिएपनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सवालमा नेपाली कांग्रेसभित्रै फरक मत पाइन्छ । पार्टीको प्रशिक्षण राम्रोसँग नभएको र कार्यकर्ता सुविधाभोगी हुँदै गएको अवस्था देखिएकाले कांग्रेसभित्रै थुप्रै बेथिति बढिरहेको अवस्था छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुसार स्पष्ट मार्गचित्र बनाएर उभिने हो भने नेपाली कांग्रेसले अझै पनि आफ्नो अवस्थामा सुधार ल्याउन सक्छ तर आन्तरिक कलह, गुटबन्दी, विदेशीको हस्तक्षेप र परस्परमा देखिएको अविश्वास जस्ता कारणले कांग्रेसको भविष्यबारे समेत प्रश्न उठाउन थालिएको छ ।
सभापतिमा स्वेच्छाचारी भएको भन्दै देउवाको आलोचना भइरहेका बेलो विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेपछि नयाँ किसिमको विवाद शुरु भएको छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, सशांक कोइराला, रामशरण महत, अर्जुनरसिंह केसी, सुजाता कोइरालालगायतका नेताहरु अहिले देउवाका विरुद्ध खुलेर मोर्चाबन्दी गर्न थालेका छन् । पार्टीको १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि देउवाले ठिक ढंगले पार्टी सञ्चालन गर्न नसक्दा स्थानीय तहदेखि संसदसम्म कांग्रेसले पराजय भोग्नु परेको देउवाका विरोधीहरुको तर्क छ ।
सुजाता कोइरालाको निवासमा हालै भएको छलफलमा उनीहरुले देउवालाई परास्त गर्दै आफूभित्रैबाट नयाँ नेतृत्व लिनुपर्ने विषयमा छलफल गरेपनि देउवाको विकल्पका रुपमा उभिन सक्ने र सबैलाई समेट्ने व्यक्तित्व को हुनसक्छ भन्नेमा उनीहरुभित्तै विवाद छ ।
रामचन्द्र पौडेलदेखि लिएर कृष्ण सिटौला मात्र होइन, कोइराला परिवारका शेखर, सशांक र सुजाता समेत देउवाको विकल्पको रुपमा उभिन खोजिरहेका छन् । यस्तै प्रकाशमान सिंहले आफूले पार्टीको नेतृत्व गर्न सक्ने दावी गर्दै आएका छन् भने देउवा विरोधी मोर्चामा समेत भित्रभित्रै एक अर्कालाई प्रतिस्पर्धी ठान्ने प्रवृत्ति देखिएको छ ।
पछिल्ला केही महिनायताका घटनाक्रम हेर्दा देउवालाई असफल तुल्याउने र आयोग्य प्रमाणित गरेर महाधिवेशनपूर्व नै राजीनामा गर्न वाध्य गर्ने र चाडै महाधिवेशन गराउने उनका विपक्षीहरु सक्रिय भएर लागेका छन् । तर नेपाली कांग्रेस भित्रका सैद्धान्तिक र व्यवहारिक कठिनाइहरु समाधानमा उनीहरुको पनि चासो देखिएको छैन ।
नेविसंघको विधान समेत स्पष्ट गर्न नसक्ने नेताहरुले पार्टीकै विधानका बारेमा समेत टुंगो लगाउन नसकेर कमजोरी देखाइरहेका छन् । विधानमा देखिएका विवादका विषय टुंगो लगाउन नसक्दा महासमिति वैठक पुनः धकेलिन सक्ने सम्भावना बढेको छ । विधानको मस्यौदा लेख्न काम ठप्प भएको छ भने महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदन लेख्न काम शुरु भएकै छैन । पदाधिकारी थप्ने कि नथप्ने भन्ने विवाद पनि कायमै छ । तसर्थ सभापतिलाई कति अधिकार दिने भन्ने कुरा टुंगो नलागेसम्म विधानले पूर्णता पाउने अवस्था देखिदैन । यस्तै निर्वाचन पद्धति, संसदीय वोर्ड समितिको चयन प्रक्रिया, सदस्यता विरतण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा विवाद कायमै रहेको बताइएकोछ । तसर्थ अपूर्ण विधान लिएर महासमितिमा प्रस्तुत हुन सभापतिलगायत पदाधिकारीलाई लज्जावोध हुने अवस्था छ ।
राजनीतिक र आर्थिक प्रतिवेदन लेख्ने काम शुरु नहुँदा महासमितिको वैठक लम्व्याउनु पर्ने वाध्यता रहेको बुझिएकोछ । प्रतिवेदन लेख्न काम तत्काल शुरु भएपनि विज्ञहरुसँग परामर्श गर्नुपर्ने र त्यसलाई पूर्णता दिन कैयन् हप्ता लाग्ने भएकाले र आर्थिक नीति समेत स्पष्ट बनाउनु पर्ने भएका कारण महासमिति वैठक पुस पछि मात्र हुन सक्ने सम्भावना देखिएको हो ।
मंसिर ५ देखि ९ गतेसम्म महासमिति वैठक हुने भनिएकोमा समयमा तयारी नहुँदा मंसिर २८ गतेसम्मका लागि सारिएको थियो । विभिन्न प्रतिवेदन तयार गर्न भदौ ९ गते बसेको कांग्रेसको केन्द्रीय समिति वैठकले निर्णय गरेपनि प्रतिवेदन लेख्ने काम अझै शुरु नहुुनुमा आन्तरिक गुटबन्दी नै प्रमुख कारण मानिएको छ । यसले गर्दा महासमिति वैठक मंसिर २८ बाट पनि पछि धकेलिने सम्भावना
बढेको छ ।
देउवा र उनका विरोधीहरु निकै सक्रिय हुन थालेका छन् भने युवा नेताहरुले छुट्टै गुट बनाएका छन् । युवा नेता गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्रीप्रसाद पाण्डे, जीवन परियारलगयातका नेताहरुले विभिन्न चरणमा छलफल गरिरहेका छन् । आसन्न महासमिति बैठकमा युवाहरुको आवाज एकमत बनाउने उद्देश्यले युवाहरु एकजुट भएको बताइएको छ । महासमिति बैठकमा युवाहरुको तर्फबाट प्रस्तुत गरिने सांगठनिक तथा राजनीतिक प्रस्तावका विषयमा युवा नेताहरुबीच छलफल भएको बताइएको छ ।
यो ध्रुविकरणले पार्टीभित्र गुट, उपगुट र मनोमालिन्य बढ्दै गएको छ । जसले गर्दा आउँदा दिनमा कांग्रेस अरु बलियो हुने सम्भावना समेत कमजोर हुँदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

आर्थिक नीति परिवर्तन गर्ने
नेपाली कांग्रेसले आफ्नो पार्टीको आर्थिक नीति वदल्ने भएको छ । उत्पादन र वितरण प्रणालीमा ध्यान केन्द्रित गर्दै नयाँ आर्थिक नीतिमा जाने सो पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् ।
पहिले अर्थशास्त्रीहरुले पार्टीको नीति बनाउँदा पूर्णरुपमा व्यवहारिक नभएको उनीहरुको बुझाइ छ । तसर्थ अब पार्टीका जिल्लास्तरका कार्यकर्ताको सुझाव लिएर आर्थिक नीति बनाउने र त्यो समाजवाद उन्मुख हुने नेताहरुले दावी गरेका छन् ।
२०४६ सालपछि कांग्रेसले खुल्लाबजार अर्थतन्त्र सम्वन्धी नीति लिदा चौतर्फी आलोचना भएको थियो । राजा महेन्द्रका पालादेखि विभिन्न राष्ट्रले सहयोग स्वरुप बनाएका विभिन्न उद्योगहरु रोगी भएको भन्दै नेपाली कांग्रेसको सरकारले निजीकरण गर्दा हजारौ व्यक्ति वेरोजगार भएका थिए ।
कांग्रेसले नयाँ नीतिमा कृषि र उद्योग दुवैलाई महत्व दिने भएको छ । यस्तै जनताको आर्थिक वृद्धिदर बढाउन र राजस्व वृद्धि गर्ने आर्थिक नीति लागू गर्न कांग्रेसले गृहकार्य गरिरहेको बताइएको छ ।