मङ्सिर ३ गते सार्वजनिक बिदा

सिन्धुली-दूधौली नगरपालिकाले हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन  मङ्सिर ३ गते  सार्वजनिक बिदा दिइएको छ ।

उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।

नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत सो समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए ।

स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो बिदा हो । नगरपालिकामा बसोवास गर्ने बहुसङ्ख्यक आदिवासी दनुवार जातीको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको प्रवक्ता रितेश राउतले जानकारी दिए ।

दनुवार समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले बिदा दिइएको होे ।