राप्रपाको एकता हलोमै अड्कियो

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता हुने भनिएको पार्टी एकता चुनाव चिन्ह र राजतन्त्रको विवादले अड्किएको छ ।
तीन वटै राप्रपाका दोस्रो तहका नेताहरुको सक्रियता र दवावमा एकता वार्ता भएपनि थापा र राणाबीचको वार्ता बिथोलिएपछि एकता प्रक्रिया टरेको छ । तर नेताहरुले भने एकताको प्रयास जारी रहेको बताएका छन् ।
राजसंस्थाका बारेमा राणाले स्पष्ट दृष्टिकोण राख्न नसकेको र चुनाव चिन्ह समेत विवादमा परेका कारण राणा र थापाबीच कुरा मिल्न नसकेको बुझिएको छ । तर कमल थापानिकट नेताहरु राजतन्त्रका सवालमा पशुपति शमशेर राणाले कपटपूर्ण विचार व्यक्त गरेको आरोप लगाउँदै उनीसँग एकता गर्न नसकिने बताउन थालेका छन् ।
यस्तै कमल थापाले चुनाव चिन्ह गाई नै राख्नुपर्ने अडान लिएको र राणाले राप्रपाको पहिचान भएको भन्दै चुनाव चिन्ह हलो नै हुनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको बताइएको छ । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले एकताका बारेमा पुनः छलफल हुन सक्ने बताउँदै एकता प्रक्रिया ढिलो मात्र भएको तर सम्भावना समाप्त नभएको बताएका छन् ।
युवा नेताहरु थापा, राणा र लोहनीको पार्टीमा बाँडिएका लाखौ कार्यकर्ताहरु एकीकृत भएको खण्डमा संसदमा राप्रपाको बलियो उपस्थिति देखाएर वैकल्पिक शक्तिका रुपमा उभिन सक्ने तर्क गरिरहेका छन् । तर नेतृत्वका बीचमा विश्वास विकसित नहुँदा समस्या देखिएको छ ।
विगतमा सम्वैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्र स्वीकार गरेर २०४७ सालदेखि २०६३ सालसम्म एउटै पारामा हिडेका पार्टीका नेता कार्यकर्ताहरु २०४६ सालभन्दा पहिले व्यक्तिवादी चिन्तनबाट प्रभावित भएका कारण पार्टीमा अहिले पनि पुरानै ह्याङओभर देखिन्छ ।
को ठूलो हुने भन्ने प्रतिस्पर्धाले गर्दा तीन वटै राप्रपा भित्र नीति होइन, नेता प्रधान देखिएका छन् । त्यसैले उनीहरुले नीति, दर्शन, सिद्धान्त, आदर्श र व्यवहारमा मूलभूत परिवर्तन ल्याएसम्म व्यक्तिवादी सोचले तीन वटै राप्रपालाई कमजोर बनाइरहने सम्भावना बढेको छ ।
लोहनी र थापा राजतन्त्रका बारेमा नरम देखिएपनि राणाले कुनै स्पष्ट जवाफ दिएक छैनन् । हिन्दुत्वको प्रतिक गाईलाई चुनाव चिन्ह मान्नुपर्छ भन्ने थापाको धारणा राणाले अस्वीकार गरेको बताइएको छ । यस्तै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्न सकिने थापा पक्षले आफ्नो धारणा राखेको छ । तर लोहनीको नेतृत्वमा रहेको राप्रपा राष्ट्रवादी राणा र थापाको विवादमा मुछिन चाहेको देखिदैन ।
केही दिनअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले आफू एकता प्रक्रियाबाट भाग्न नखोजेको बताएका छन् भने कमल थापाले राणाकै कारण वार्ता भाडिएको आरोप लगाएका छन् ।