विप्लवले आज जनप्रदर्शन गर्दै

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा ८ मंसिरलाई विशेष दिवसका रूपमा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा शनिबार जनप्रदर्शन गर्दै छ

जनप्रदर्शनको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेताले सम्बोधन गर्नेछन् । ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले देशैभरि जनप्रदर्शन गर्ने बताएको छ । पार्टीले दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रलाई भलो नहुने भन्दै राष्ट्रियता झनै कमजोर हुँदै गएको बताएको छ ।

पार्टीले नयाँ संविधान र त्यसअनुसार बनेको संघीय संरचनामा पनि असहमति जनाउँदै आएको छ ।

नयाँ सरकार बनेको १० महिना बित्दा पनि कुनै उपलब्धिमूलक काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपालको राष्ट्रियता गम्भीर घुम्तीमा पुगेको तथा देश र जनता असुरक्षित हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

देशमा देखिएको समस्या समाधानका लागि वैकल्पिक पार्टीको आवस्यकता परेको र त्यसको गन्तव्य वैज्ञानिक समाजवादी व्यवस्था रहेको उसको तर्क छ । उक्त वैज्ञानिक समाजवादमा पुग्नको लागि जनप्रदर्शन सहयोगी हुने पार्टीको विश्वास छ ।