अन्तरिक्षमा बच्चा जन्माउने वैज्ञानिकको तयारी

आगामी ६ वर्षभित्रमा अन्तरिक्षमा बच्चा जन्माउने तयारीमा वैज्ञानिकहरु लागेका छन् । स्पेसलाइफ ओरिजिनले २०२४ सम्ममा स्पेसमा बच्चा जन्माउने तयारी गरिरहेको छ । एजेन्सीका अनुसार सो कामको लागि उसलाई स्वयंसेवकहरु मागेको छ ।
डेली मिररको रिपोर्टअनुसार स्पेसलाइफ ओरिजिन्सका संस्थापक तथा प्रमुख कार्यकारी किज मल्डरले यदि मानवता मल्टिप्लानेटरी (बहुग्रहीय) प्रजाति बनाउन चाहने हो भने हामीलाई स्पेसमा प्रजननको तरिका सिक्न अब जरुरी भइसकेको बताएका छन् ।
उक्त फर्मले दाबी गरेअनुसार एउटा अन्तरिक्ष भ्रुण इन्क्युबेटर बनाइरहेको छ जसले २०२१ मा अण्डा र वीर्य सँगै स्पेसमा पठाउनेछ ।
एजेन्सीका अनुसार अण्डा र स्पर्म (वीर्य)को मेलबाट स्पेसमा भ्रुण विकसित हुन सुरु हुनेछ । यद्यपि उनले यसको आवश्यक प्रक्रियाबारे भने बताएनन् । त्यसको चार दिनपछि इन्क्युबेटर पृथ्वीमै फर्केर आउनेछ भने यहाँ नै गर्भावस्था र प्रसव सम्पन्न गराइनेछ । फर्मले २०२४ मा स्पेसमा पहिलोपटक प्रसव गराउने योजना बनाएको छ ।
फर्मका प्रवक्ताका अनुसार २४ देखि ३६ घण्टाको मिसनमा धरतीदेखि २ सय ५० माइलमाथि एक महिला बच्चालाई जन्म दिनेछिन् । सो क्रममा महिलासँगै तालिमप्राप्त विश्वस्तरीय मेडिकल टिम पनि सँगै हुनेछ । सम्भावित खतरासँग उनीहरुले नै जुधेर काम गर्ने बताइएको छ । यसका लागि २ लाख ५० हजार डलरदेखि ५० लाख डलरभन्दा बढी खर्च लाग्ने बताइएको छ ।