एकता असफल भएपछि राप्रपामा चर्को विवाद

दोस्रो तहका नेता छुट्टै पार्टी गठनको तयारीमा

काठमाडौं । तीन राप्रपाको एकता अन्तिम अवस्थामा आएर असफल भएको छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि पटकपटक वार्ता भएको थियो । तीन वटै राप्रपाका दोस्रो तहका नेताहरुको दवावमा एकता वार्ता भएको थियो । दोस्रो तहका नेताहरुको पटकपटकको वार्तापछि शीर्ष नेताहरुबीच वार्ता भएको थियो । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाबीच भएको वार्तामा पार्टीको सिद्धान्त र चुनाव चिन्हका बारेमा कुरा मिल्न नसकेपछि एकता हुन नसकेको हो । थापाले पार्टीको सिद्धान्त संवैधानिक राजतन्त्र हिन्दु राष्ट्र हुनुपर्ने र निर्वाचन चिन्ह गाई हुनुपर्ने दावी गरेका थिए । तर अध्यक्ष राणाले सिद्धान्तका बारेमा महाधिवेशनले टुंगो लगाउने र चुनाव चिन्ह हलो हुनुपर्ने अडान लिएपछि वार्ता भाँडिएको राप्रपाका एक नेताले बताएका छन् ।
तीन राप्रपाको एकता भाडिएसँगै राप्रपाभित्र विवाद चुलिएको छ । समान विचारधारा भएका पार्टीसँग एकता गर्ने निर्णयमा अध्यक्ष थापा बाधक भएको भन्दै राप्रपाका एक दर्जन नेताहरुले चर्को असन्तुष्ट व्यक्त गरेका छन् । अध्यक्ष थापाको कार्यशैलीबाट रिसाएका आधा दर्जन शीर्ष नेताहरुले कार्यसम्पादन समितिको बैठक समेत बहिष्कार गरेका छन् ।
बिहीबार बोलाएको कार्यसम्पादन समितिको वैठकमा नेताहरु बुद्धिमान तामाङ, टंक ढकाल, दिलविकास राजभण्डारी, जयन्त चन्द र धवलशमशेर राणालगायतका नेताहरु अनुपस्थित भएको एक नेताले बताएका छन् । प्रभावशाली नेताहरू अनुपस्थित भएपछि थापालाई ठूलो झड्का पुगेको एक नेताले बताएका छन् ।
कार्यसम्पादनबाट अध्यक्ष थापाले जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले पारित गरेका वैचारिक आधारस्तम्भ, रणनीति, कार्यनीति, प्राथमिकता र कार्ययोजनालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको बताइएको छर ।
सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न पराराष्ट्र नीति राप्रपाको राजनीतिक दर्शन भएको ती नेताले बताएका छन् ।
राप्रपाले संविधानको उपयोग र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्बन गर्नेछ । राप्रपाले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि फागुन ७ गते देशव्यापी जनसंघर्ष गर्ने निर्णय गरेको वैठक पछि जारी विज्ञप्तिमा उल्लेख छर ।
राप्रपाका असन्तुष्ट नेताहरुले पार्टी एकताका लागि अझै पहल गर्ने र एकता हुन नसके तीन वटै पार्टीका दोस्रो तहका नेताहरुबीच एकता गरेर नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको स्रोतको दावी छ । राष्ट्रवादी नेताहरुवीच एकता गरेर बन्ने नयाँ पार्टीलाई आगामी निर्वाचनसम्ममा कांग्रेस, कम्युनिष्टको वैकल्पिक पार्टीका रूपमा उभ्याउने रणनीति रहेको एक नेताले बताएका छन् ।
यता अध्यक्ष थापाले पार्टी एकताको नाममा अल्मल गर्ने समय नभएको बताएका छन् । पार्टीको संयोजित संगठन समन्वय विभागले शुक्रबार काठमाडौंमा गरेको उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले एकताको ढोका खुला राखेर जनसंघर्षका कार्यक्रम सञ्चालन गर्न राप्रपा अघि बढिसकेको बताए । टाउको जोडेर मात्र हुने एकताबाट शक्ति प्राप्त नहुने भन्दै नेता थापाले पार्टीको विचार तथा एजेण्डाप्रति इमान्दार भएमात्र राप्रपालाई ठूलो बनाउन सकिने दावी गरेका छन् ।
थापाले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थाको पुनस्र्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि जनसंघर्षका कार्यक्रम सफल बनाउन संगठन विस्तारमा जोड दिन अगुवा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
सो कार्यक्रममा राप्रपा नेता तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनले पनि अध्यक्ष थापाले जस्तै एकताका नाममा अल्मलिने र हिन्दु राष्ट्र तथा राजसंस्था पुनस्र्थापना गर्ने बाटोमा अघि बढ्नबाट रोकिने छुट राप्रपालाई नभएको बताएका छन् ।