‘एक्सन’मा उत्रिए प्रधानमन्त्री ओली

कुनकुन मन्त्रीको पदमा लाग्ने हो ‘गोली’

काठमाडौं । सरकार सुस्त भएको भन्दै विपक्षी दलले मात्र नभई सत्तारुढ पार्टी नेकपाका नेताहरुले समेत चर्को आलोचना गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सरकारका कामलाई गति दिन र परिणाममुखी बनाउन एक्सनमा उत्रिएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यान्वयन सम्बन्धि प्रथम चौमासिक समीक्षाका लागि आव्हान गरेको छलफलमा मन्त्री, सचिवलाई बोलाएर प्रधानमन्त्री ओलीले प्रगति विवरण माग्नुका साथै उपलव्धि नहुुनुका कारण पनि खोजेका छन् । बुधबार, बिहीबार, शुक्रबार र शनिबारको समीक्षा वैठकमा प्रधानमन्त्रीले सरकारका कमीकमजोरीको समीक्षा गर्दै काम नगर्ने मन्त्री, सचिव, कर्मचारी तथा सरोकारवालाहरुलाई छुटको अवसर नभएको चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्रीले प्रत्येक मन्त्रालयका कामको मूल्यांकन गर्दै वितेका आठ महिनामा स्पष्ट रुपमा जनतालाई खुशी पार्ने काम गर्न नसकिएको स्वीकार गरेका छन् ।
मन्त्री र सचिवको कार्य सम्पादन मुल्यांकनले सरकारको प्रभावकारिता बढाउने दखिन्छ भने अर्कातिर उनीहरुको क्षमता बुझ्न प्रधानमन्त्रीलाई सहयोग पुग्ने छ । प्रधानमन्त्री भएदेखि नै ओलीले मन्त्री र सचिव दुबैको अनुमगन हुने बताउँदै आएका थिए । विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने सरकारले परम्परागत र पुरानै परिपाटीले काम गर्न नसक्ने भन्दै समयसीमा सहितका प्रष्ट कार्ययोजना बनाएर देखिने काम गर्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीका निर्देशन अनुसार अपेक्षित काम हुन सकेको देखिदैन ।
“देशको परिस्थिती, जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ । ती अपेक्षा पूरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनाव मार्फत पठाएर आएका छौं” भन्दै प्रधानमन्त्री ओलीले आफ्नो अभिभारा र जनताको अपेक्षालाई पूरा गर्न कोही कसैले पनि विलम्ब गर्न नहुने चेतावनी दिए ।
केही मन्त्री वाहेक सवै कमाउ धन्दामा मात्र लागेको आरोप लागिरहेको छ । कर्मकाण्डीमात्र देखिएका मन्त्रीहरुले कर्मचारीले आफूहरुलाई नटेरेकाले प्रगति गर्न नसकिएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले “आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस् ।” भन्दै ओलीले देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदी’ जस्ता शब्द प्रयोग गरेर उम्कने प्रयास नगर्न चेतावनी दिए ।
“एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यालयबाट अर्को कार्यालयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ” प्रधानमन्त्री ओलीले भने “मन्त्रिपरिषदबाट ढिला सुस्ती भएको छ भने भन्नुहोस् । मन्त्री, सचिबको ढिलासुस्ती छ भने भन्नुहोस् । ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ । अब कहिं पनि ढिलासुस्ती स्वीकार्य छैन ।”
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ससाना घटनामा पनि सरकारले असफलता भोग्नु परेको भन्दै आलोचना गरिरहेको छ भने संविधानको पालना गर्नुपर्ने सरकारले कर्तव्य भुलिरहेको समेत आरोप लगाएको छ । मन्त्रिपरिषद्को निर्णय एक सातापछि सार्वजनिक गर्ने विषय संविधानको भावना विरुद्ध भएको समेत कांग्रेसको आरोप छ । तत्काल सूचना पाउनुपर्ने अधिकार कुण्ठित गर्न खोजिएको कांग्रेसको आरोप छ ।
प्रधानमन्त्रीले विभिन्न मन्त्री र सचिवहरुलाई चेतावनी दिदै कुनै पनि वहानामा आलटाल गर्न नपाइने बताएका छन् । तर केन्द्रदेखि तल्लो तहसम्म काम टार्ने प्रवृत्ति देखिएको भन्दै स्थानीय जनताले आलोचना गरिरहेका छन् ।
नेपाली कांग्रेसले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेका बेला प्रधानमन्त्रीले आफ्नो कार्यशैली वदल्न मन्त्री र सचिवहरुलाई दिएको निर्देशनले सरकारका कृयाकलापमा केही सुधार आउने सक्ने अपेक्षा गरिएको छ ।
जनताका अपेक्षा पूूरा गर्न सकिएन भने परिस्थिति जटिल हुन सक्ने प्रधानमन्त्रीको टिप्पणी छ । तर मन्त्री र सचिवहरु मिलेर संस्थागत रुपमा गरिएका ठूलाठूला भ्रष्टाचार, वेथिति र गलत प्रवृत्ति रोक्न तत्काल कडा नीति नल्याएमा प्रधानमन्त्रीको निर्देशनले मात्रै परिस्थिति सम्हालिने देखिदैन ।
वर्तमान सरकार असफल भए कम्युनिष्ट आन्दोलन नै असफल हुने टिप्पणी गर्दै नेकपाका नेताहरुले ‘समयसिमाभित्र काम गर्न नसक्ने मन्त्री, सचिव र अन्य कुनै पनि कर्मचारीलाई त्यहाँ राखिरहनुपर्छ भन्ने छैन ।’ भन्दै परिवर्तन गर्न समेत सुझाव दिइरहेका बेला नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको यो समीक्षा वैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपाभित्र मन्त्री बन्ने योग्यता मात्र होइन अवसर पाए गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका धेरै नेता छन् । मन्त्रीहरुको कार्यसम्पादनका आधारमा उनीहरुको मुल्याकंन गरेर काम गर्न नसक्नेलाई हटाउन र राम्रो काम गरेकाहरुलाई प्रोत्साहित गर्नुपर्ने नेताहरुको माग छ ।
मन्त्री र सचिवहरुले बुझाएका प्रतिवेदनको मुल्याकंन गरिरहेका प्रधानमन्त्रीले अर्को मासिक प्रतिवेदन प्रस्तुती र मुल्यांकनसम्ममा काम गर्न सक्ने÷ नसक्ने मन्त्रीहरुको बर्गीकरण गरेर मन्त्री फेर्न सक्ने एक नेताले बताएका छन् । प्रधानमन्त्री ओलीको एक्सनको गोली कसकसलाई लाग्ने हो, त्यो भने भविष्यले बताउला ।