चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा सकियो
गुल्मी÷चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले प्रदेशको विकासको लागि आफुहरु लागी परेको बताउनुभएको छ । उहाँले स्थानीय सरकार र प्रदेश सरकार मिलेर अगाडि बढे मात्रै विकासले तिव्र गति लिने बताउनुभएको थियो ।
प्रदेश सभा सदस्य खड्ग केसीले प्रदेश प्रतिनिधि भएकाले यो क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट भरपुर पहल गर्ने बताउनुभएको थियो । मुसीकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले कृषि, पर्यटन र उद्योगलाई नगरपालिकाले आर्थिक समृद्धिको आधार बनाएको बताउनुभएको छ ।
ऐतिहासिक मुसीकोट दरबार, मालिका मन्दिर, शालिमे दह तपोभुमी सिद्देश्वर गुफा, चक्रेश्वर गुफा तथा अथाहा वन सम्पदा भएकाले धार्मिक तथा पर्यावरणीय पर्यटनलाई जोड दिएको बताउनुभयो ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका उप–प्रमुख कमला शर्मा, प्रशासकिय अधिकृत नवराज भण्डारी, जनप्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । महोत्सव संयोजक भविराम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
महोत्सव मनाउन यसरी शुरु गरियो
बिशेष गरी गुल्मी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पर्ने तपोभुमी सालिमेको काखमा रहेको पुण्य धाम मालिकाको उत्पत्ती द्धापरयुगमा भएको भन्ने भनाई छ । हालको मुसीकोट नगरपालिका ६ साविकको कुर्घा गाविस वडा नं ३ मालिका भन्ने स्थानमा सयौँ वर्ष अघि स्थापना भएको मन्दिरका संस्थापक माल्यश्री नामका ऋषि थिए भन्ने जन विश्वास रहेको छ ।
अहिलेको मन्दिर भएको स्थानभन्दा केही तल शालताल नामको एउटा तलाउ थियो । तलाउ अत्यन्त सुन्दर थियो । तलाउको वरीपरी सुगन्धित बासनादार फुलहरु चम्पा, चमेली, बेली, जाई लगायतका फुलहरु थिए । तलाउको नजिकै माल्यश्री नामका ऋषि जो वेदका ज्ञाता थिए आश्रममा बस्थे धेरै विद्यार्थीहरुलाई पढाउँथे ।
दैनिक पुजापाठ चल्थ्यो । घृतधारा बहन्थ्यो । तालमा जङ्गली जनावर मृग, पश्नी, बाँदर लगायतका धेरै जनावर पानी खान आउँथे । मान्छे र जनावरका बिचमा सम्बन्ध थियो । समय बित्दै गयो । अचानक खडेरी परेका कारण ताल सुक्यो पानीको हाहाकार भयो ।
ताल वरपरका बासिन्दा पानीको खोजी गर्न ऋषिलाई आग्रह गरे । प्राणिको हितका लागि माल्याश्री ऋषि तपस्यामा बसे । जगत जननीदेखि भगवती ऋषिको तपस्याबाट प्रशन्न भई बरदान माग्न गरेको आग्रह अनुसार पानी मागे । भगवतीले तथास्तु भनी अन्तध्र्यान हुनुभयो ।
त्यही दिनको मध्यरातमा पहरामा ठुलो आवाज आयो । सुर्योदयमा गएर हेर्दा पहराको बिचबाट कलकल गर्दै पानीको छहरो बग्दै गरेको देख्दा हर्षले जननी भगवती मालिका माताको प्रार्थना गरी ऋषिले पानीको छहरा नजिक एक मन्दिरको स्थापना गरे ।
पहरा फुटी पानी निस्केको दिन बैकुण्ठ चर्तुदर्शी रहेछ । त्यही दिनदेखि हरेक वर्ष शुक्ल चतुदर्शीका दिन मेला लाग्ने तथा मालिकामा महापुजा लाग्ने चलन चलेको किवंदन्ती पाइन्छ ।
बैकुण्ठ चतुर्दशीका दिन साँझ मालिका आएर भजन किर्तन गर्ने दोहोरी गाउने, नाचगान गर्ने र रातभर जाग्राम बसी पुर्णिमाको दिन बिहानै नुहाएर पुजा गरी मालिका मातासँग वरदान माग्ने चलन रही आएको सो क्षेत्रका जानकारको भनाई छ । हाल आएर मालिका मेलाको अवसरमा महोत्सवको आयोजना गर्र्न थालिएको छ ।
मालिका दर्शनार्थीहरुको घुइ“चो
एकदम चिच्याएर बर माग्न पर्छ भन्ने हाम्रो परम्परा थियो र पहिला अन्धविश्वासले पनि चिच्याउने गरेको भएता पनि आजभोलि त्यो परम्परा क्रमश घट्दो छ । अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका विद्धान र चेतनाको स्तर वृद्धि भएपछि अहिले प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताउनुभयो ।
जिल्लाको मुसिकोट नगरपालिका ६ कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने रहेको मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अर्घाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर बर माग्दा आफ्नो मनोकाङ्क्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाक्कल चढाउने गर्छन् । मन्दिरमा परेवा उडाउन र मालिकादेवीको दर्शन गर्न शुक्रवार विहानै देखि मालिकामा भक्तजनको घुइँचो लागेको थियो ।