महिलालाई उद्यमशील बनाउन रिब्दीकोटमा अन्तक्र्रिया
पाल्पा÷ महिलाहरुलाई उद्यमशील बनाउन अन्तक्र्रिया गरिएको छ । रिब्दीकोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका एकल महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर गराउन अन्तक्र्रिया गराएको हो । गाउँपालिकाको खस्यौलीमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले एकल महिलाहरुलाई उद्यमशिल बनाई गाउँपालिकालाई आर्थिक समृद्विमा अगाडि बढाउने बताएका छन् । उनले उद्यममा लाग्ने महिलाहरुको सोचलाई सम्बोधन गर्न गाउँपालिकाले विभिन्न निति तथा कार्यक्रमहरु ल्याएको जानकारी गराए । अध्यक्ष जिसीले एकल महिलाहरुले स्थानीय स्तरमै बत्ती कात्ने, झिनिया बनाउने, ढाका बुन्ने सिलाउने, बाख्रा पाल्ने, भैसी पाल्ने डेरी सन्चालन गर्ने, कुखुरा पाल्ने, बंगुर पाल्ने, ढाकर डोका बनाउने, अगरबती बनाउने, तरकारी खेती गर्ने, टपरी बनाउने जडिबुटि संकलन गर्ने लगायतका कार्य गरी आर्थिक समृद्विमा अगाडि बढ्न सक्नेमा जोड दिए ।
गाउँपालिका भित्र रहेका एकल महिलाहरुलाई उद्यमशिल बनाउने उद्देश्यले रिब्दीकोट गाउँपालिकाले गाउँपालिका स्तरिय एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रशासकिय अधिकृत अनिल पौडेलले कार्यक्रमको विषयमा जानकारी गराउँदै एकल महिलाहरुले उद्यमशिलतालाई आत्मसात गर्न सकेमा सोचे भन्दा बदी आम्दानी गर्न सक्ने बताए । एकल महिलाकी जिल्ला अध्यक्ष तुलसा गैरेले एकल महिलाका पिडा र समस्यामा गाउँपालिकाले उत्प्रेरणा जगाउनुपर्ने बताइन् । कार्यक्रममा मदनपोखरा ढाका पसलका व्यवस्थापक कमल भण्डारीले ढाकाका ब्याग, सुर्के थैली, खादा, सल घरमै बसेर महिलाहरुले फुर्सदको समयमा काम गरेर राम्रो आयआर्जन गर्न सक्ने बताए । बैदिक पुजा सामाग्रीका व्यवस्थापक जीवन पाण्डेले महिलाहरुले बत्ती, परालको चप्पल, धुप, लगायतका पुजामा प्रयोग हुने सामाग्रीहरु निर्माण गर्न सके बजार व्यवस्थापनमा आफुले सहयोग गर्ने बताए ।