रानीमहलमा ‘इको पार्क’ निर्माण गर्न मन्त्री, सांसदले गरे अवलोकन
पाल्पा÷प्रदेश ५ का मन्त्री र सांसदहरुले रानीमहल दरबारको अवलोकन गरेका छन् । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहल दरबारलाई थप आकर्षक बनाई इकोपार्क निर्माण गर्ने उद्देश्यले मन्त्री र सांसद सहित जिल्ला विकास समितिका पुर्वसभापतिहरु, नगरपालिकाका उपप्रमुख तथा कार्यकारी, वडाअध्यक्षहरु र स्थानीय सरोकारवालाहरुले ऐतिहासिक रानीमहलको अवलोकन गरेका हुन् । अवलोकन भ्रमणपछि अन्तरक्रियामा वोल्दै प्रमुख अतिथि प्रदेश ५ का भौतिक पुर्वाधार मन्त्री वैजनाथ चौधरीले रानीमहल क्षेत्र र ऐतिहासिक दरवारको संरक्षण तथा यसको पुर्वाधार विकासका लागि गुरुयोजना तयार गर्ने योजनाका साथ आफुहरु अवलोकन भ्रमणमा आएको बताए ।
मन्त्री चौधरीले भने, हामीले पहिलो काम प्रदेशको प्रवेश द्वार र महत्वपूर्ण पर्यटकिय गन्तव्यहरुमा गेट बनाउँदै छौ, हामीले त्यो गेटमा पहिलो वुद्धको जन्मस्थल लुम्बिनी, दोस्रोमा जीतगढी र तेस्रो नम्वरमा रानीमहल र रानीघाट क्षेत्रको परिचय खुल्ने खालका तस्वीरहरु प्रदर्शन र महत्वका विषयमा परिचय खुल्ने गरी राख्दै छौ, त्यसबाट वाहिरबाट आउने प्रत्येक पर्यटकहरुले यहाँको अवलोकन गर्ने छन् तर सँगसंगै पर्यटन विकासमा टेवा पु¥याउने प्रदेश सरकारको सोंच रहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पाल्पा र आसपासको विकास र रोजगारीका लागि पर्यटन विकास नै महत्वपूर्ण भएको बताउँदै, रानीमहल क्षेत्रको विकासले पाल्पामा लाखौ पर्यटक भित्र्याउन सजिलो पर्ने बताए ।
रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो । यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । यसै वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री गिरीले बताए । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्यअनुसार पहिलो चरणमा इको पार्क बनाउन लागिएको उनले जानकारी दिए । आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य रानीमहललाई बनाउने मन्त्री गिरीको भनाइ छ ।