‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’
काठमाडौं । नेपालमा महिला बालबालिका माथि यौन हिंसा बढिरहेको समयमा मनाउन लागिएको यसवर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नारा तय गरिएको छ ।
आजबाट शुरु भएको १६ दिने अभियान सञ्चालन गर्न गठित मूल समारोह समितिले यसवर्षको नारा नेपालमा अहिले महिला बालबालिकामाथि बढिरहेको हिंसाको अवस्था हेरेर तय गरिएको जनाएको छ ।
विश्वभर भने ‘अरेन्ज द वल्र्ड ः हिअर मि टू’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान मनाईंदै छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न महिला मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको थियो ।
आज (नोभेम्बर २५) भृकुटीमण्डपबाट बृहत ¥याली निकालेर १६ दिने अभियानको थालनी गरिएको छ । १६ दिने अभियानको अवधीभर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।
प्रवक्ता पौडेलका अनुसार १६ दिनभर नै सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियानभर विभिन्न कार्यक्रममा सहभागी गराइने योजना छ ।
१६ दिने अभियानबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अन्तरक्रियादेखि विभिन्न जिल्ला तथा काठमाडौंमा सार्वजनिक सुनुवाई कार्यक्रम पनि गरिने जानकारी दिइएको छ ।
राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरका अनुसार लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमूखिकरण, न्यायिक समितिका पदाधिकारीलाई अभिमूखिकरण, विद्यालयस्तरको जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रम १६ दिन अवधीभर सञ्चालन हुने बताइएको छ ।