बाँदर आतङ्क
भोजपुर- बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् ।
बाँदरको आतङ्क बढेपछि कतिपय स्थानीय विस्थापित समेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् ।
विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँ भरि नै बाँदरको आतङ्क बढेको स्थानीय टेकबहादुर तामाङले बताए ।परिवारका एकदेखि दुई जनाले बाँदर हेर्दैमा दिन बित्ने गरेको छ ।
यतिबेला बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयवासीले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । सरकारले बाँदरलाई मार्न नदिएपछि झनैं समस्या भएको स्थानीयबासीको गुनासो छ ।
बाँदरको उपद्रो बढ्दो छ, एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, यसबाट बस्ती नै आतङ्कित बनेको छ, बाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नुपर्ने सोही ठाउँका तीर्थ बहादुर प्रधानले बताउछन ।खोइ सरकारले बाँदर मार्नु हुन्न भन्ने कानून ल्याएको छ रे, यो उपद्रो हेर्दा सरकारले नै बाँदर नियन्त्रणमा पहल गर्नुपर्छ, प्रधानको भनाई छ।
बाँदर आतङ्कका कारण धेरै स्थानीयबासी बसाइँ सरिसकेको छ । यसरी बसाइँ सर्ने हो भने गाउँनै खाली हुने सम्भावना रहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना बनाएर काम गर्ने वडा नम्बर ४ का अध्यक्ष फौदसिंह कार्कीले बताए । बाँदर आतङ्कको विषय वडा कार्यालयमा पनि आइरहेको छ, यसको समाधानका लागि गाउँपालिकासँग छलफल गरेर काम अगाडि बढाउछु । बाँदरकै कारण बसाइँ सर्दा दिनानुदिन खेतीयोग्य जमीन बाजिँदै गएको पनि छ अध्यक्ष फौदसिंह कार्की बताउछन।