जिल्ला सभापतिहरुको भेलाले बिहीबार ‘ककनी घोषणापत्र’ जारी गर्दै भेला सकिने
ककनी- नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको नुवाकोटको ककनीमा जारी भेलाले विधान मस्यौदा समिति बनाएको छ । बुधबार राति १७ सदस्यीय विधान मस्यौदा समिति बनाइएको हो ।
ककनी भेलाले तल्लो तहदेखि नै विधानमै अधिकार कसरी प्रत्यायोजन गर्ने भन्ने बारेमा निष्कर्ष निकाल्ने छ । काँग्रेसमा आठ तहको संरचना भए पनि सबै तहको अधिकार त्यही तहले नै गर्न पाउनु पर्नेमा जिल्ला सभापतिहरुले जोड दिएका छन् ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेलामा स्थानीय तहका उम्मेदवार चयनमा समेत केन्द्रले हस्तक्षेप गरेपछि अब त्यस्तो हस्तक्षेप मान्य हुनु हुँदैन भन्दै स्थानीय तहलाई अधिकार प्रदान गरिनु पर्नेमा जोड दिइएको छ ।
यसका लागि आफ्नै तहको निर्वाचन समिति बनाएर समाधान गर्न सकिनेमा जिल्ला सभापतिहरु एक मत छन् । भेलामा ६४ जिल्लाका सभापतिहरु सहभागी छन् ।
बुधबारको छलफलमा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले तल्लो तहसम्म अधिकार दिए मात्र पार्टी पहिलेकै अवस्थामा पुग्ने धारणा राखेका थिए ।
भेलाले पार्टी नेतृत्वलाई साझाा धारणा दिइने आयोजक जिल्ला नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी दिएका छन् । बिहीबार ‘ककनी घोषणापत्र’ जारी गर्दै भेला सकिने छ ।