जोर–बिजोर प्रणाली अवज्ञा गरौ: गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सरकाले बिहीबारदेखि लागू गरेको जोरविजोर प्रणाली अवज्ञा गर्न आह्वान गरेका छन्।
थापाले ट्वीट गर्दै सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य भएको धारणा राख्दै अवज्ञा गर्न आग्रह गरेका हुन्।
‘सही कामका लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ,’ थापाले ट्वीटमा भनेका छन्, ‘तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ, सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौँ।’
युनिभर्सल पिस फेडेरेशनले शुक्रबारदेखि मंसिर १७ गतेसम्म आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका पाहुनाको सवारीलाई मध्यनजर गर्दै सरकारले बिहीबारदेखि नै सवारीसाधनमा जोर–विजोर प्रणाली लागु गरेको छ।
यसैबीच, युथ कांग्रेस नेपालले पनि एक विज्ञप्ति जारी सरकारले लागू गरेको जोरबिजोर प्रणालीले जनतालाई सास्ती मात्रै भएको दावी गर्दै अवज्ञा गर्न आह्वान गरेको छ।