मुलुकका चारवटै सुरक्षा निकायहरुलाई अतिथिहरुको सुरक्षा चुनौति

काठमाडौँ- मुलुकका चारवटै सुरक्षा निकायहरुले एसिया प्यासिफिक समिट–२०१८ को प्रमुख सुरक्षा चुनौति म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको सुरक्षालाई मानेका छन्।

सो समिटमा सहभागिताका लागि नेपाल आउन लागेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी र कम्बोडियाली प्रधानमन्त्री सेनलाई सरकारले नेपालको औपचारिक भ्रमणको रुपमा समेत निम्त्याएको छ।

सुरक्षा निकायहरुले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाप्रति नकारात्मक धारणा राख्ने समूहबाट विदेशी उच्च अतिथिहरुमाथि सुरक्षा चुनौति सिर्जना हुनसक्ने विश्लेषण गरेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागले गरेको सुरक्षा चुनौति बिश्लेषणमा सर्वसाधारणमा ‘आईएनजिओ’ प्रति रहेको धारणाका कारण उत्पन्न हुने बिरोधजन्य गतिविधि प्रमुख चुनौति मानिएको हो। त्यस्तै, हिन्दु अतिवादी धार्मिक संगठनले गर्नसक्ने बिरोधलाई समेत सुरक्षा चुनौतिको रुपमा लिइएको छ।

सुरक्षा बिश्लेषणमा आतंककारी, अतिबादी र पृथकताबादी संगठनले आफ्नो उपस्थिति विश्वमाझ देखाउन समिट अवधिभर नेपालमा गतिविधि गर्नसक्ने भएकाले सावधानी अपनाउन सतर्क गराएका छन्।