विद्युत् चोरी गर्ने पक्राउ
लहान- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ ।
वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत रु दुई लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ ।