आवधिक योजना अरु प्रदेशलाई पनि अनुशरणीय बनाइने छ : मन्त्री वराल

गुल्मी । प्रदेश– ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले सुरु गरेको ५ बर्षे आवधिक योजनालाई अन्य प्रदेश सरकारले समेत अनुशरण गर्ने गरी काम गर्न थालिएको बताएका छन् ।
विभिन्न जिल्ला हुँदै सोमवार गुल्मीमा उक्त योजनाको सुझाव संकलन गर्न पुगेका उनले त्यहाँका जनप्रतिनिधीहरुलाई सम्वोधन गर्दै भने– ‘यो योजना स्थानीय तहबाट सुझाव संकलन गर्ने, कागजमा मात्र सिमित राख्नका लागि होईन, कार्यान्वयन गरेर जनताले अपेक्षा गरेको समृद्धिको अनुभुति गर्ने गरि ल्याईएको हो । ’
उनले गुल्मी जिल्लाका १२ वटै स्थानिय सरकारका जनप्रतिनिधिहरु र बौद्धिक व्यक्तिलाई गूल्मी जिल्लाको उद्योग व्यवसाय, ठुला योजना र सम्भावना के छ ? त्यसमा गहिरो अध्ययन गरेर प्रदेश सरकारमा सुझाव पेश गर्न आग्रह गरे ।
प्रदेश सरकारले १२ वटै जिल्लाको बस्तुस्थिति बारे प्रारम्भिक तथ्याङ्क तयार पारिएको बताउँदै अहिलेको अनुपातमा आगामी पाँच बर्ष पछि प्रदेश ५ कस्तो बन्यो त भनेर मार्गचित्र छर्लङ्ग हेर्न मिल्ने गरि सरकारले काम सुरु गरेको उनले सुनाए ।
बको ५ वर्ष पछि यस प्रदेशलाई कस्तो बनाउने भन्नेबारे मार्गचित्र कोर्नु नै आवधिक योजनाको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे । जुनसुकै राजनैतिक आस्था राखे पनि विकासमा साझा अवधारणा बनाईनु पर्ने कुरामा उनको जोड थियो ।
उनले थपे– ‘नेपालको राजनैतिक परिवर्तनका लागि संघर्ष गरेका नेपाली जनताको त्यो वलिदानी र शहिदहरुको त्यागलाई हामीले जनता संग बोलेको कुरा पुरा गर्न यो अवधारणामा उनिहरुको चित्र देख्न सकियोस्, उनिहरुको प्रतिविम्व झल्कीयोस्, त्यसरी नै स्थानिय सरकारले पनि प्रदेशलाई सुझाव दिनुहोस् ।’
कार्यक्रममा कृषि तथा सहकारी मन्त्री आरती गौतम, प्रदेश सभाका बिशेष अधिकार समितिका सभापति तथा सांसद कमलराज श्रेष्ठ, सांसदहरु खड्ग केसी, दिनेश पन्थी, गिता थापा लगायतको सहभागिता थियो ।
गुल्मीको जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, १२ वटै स्थानिय सरकारका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत लगायतका कर्मचारी, अन्य जनप्रतिनिधी, विभिन्न क्षेत्रका बौद्धिक जमातहरुको सहभागितामा समुह समुहमा बसेर सुझाव संकलन गरिएको छ ।
आवधिक योजनाका बारेमा मन्त्रीपरिषद्का कानुन सचिव भरतमणि रिजालले प्रकाश पारेका थिए । योजना आयोगका सचिव थानेश्वर गौतमको अध्यक्षता रहेको कार्यक्रममा सो कार्यालयका शाखा अधिकृत ईन्द्रबहादुर क्षेत्रीको स्वागत मन्तव्य र अर्का शाखा अधिकृत काशीराम पन्थीको सञ्चालन थियो ।