क्रिश्चियनको कार्यक्रमलाई सरकारको सहयोग

‘नेता नेपालका कारण सरकार र पार्टी वद्नाम’

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक आईएनजिओ युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नामक संस्था आयोजक गरेको ‘एसिया प्यासिफिक समिट’लाई ५५ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर सरकारले आफैले आयोजना गरेजस्तो पाहुनालाई स्वागत सत्कार गर्नेदेखि यातायातमा जोरविजोर प्रणाली लागू गरेर जनतालाई दुःख दिन काम गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।
सम्मेलनमा ४५ देशका १५ सय भन्दा बढी सहभागि भएको युपीएफका अध्यक्ष एकनाथ ढकाल अध्यक्षले जनाएका छन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी ओलीदेखि लिएर कम्वोडियाका प्रम हुन सेन, म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुचि, भारतका पूर्वप्रधानमन्त्री देवे गौडा, इरानका पूर्वउपराष्ट्रपति हसन घाफोरीलगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् ।
धार्मिकदेखि राजनीतिक विषयसम्म छलफल गरिएको सो कार्यक्रमको प्रमुख उद्देश्य अन्तर्राष्ट्रिय शान्ति भनिएपनि दक्षिण एसियाका इसाई समर्थकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दक्षिण कोरियामा प्रधान कार्यालय रहेको संस्थाले नेपालमा कार्यक्रम गरेको कूटनीतिज्ञदेखि राजनीतिज्ञहरुले समेत टिप्पणी गरेका छन् ।
भारत, वंगलादेशलगायतका कतिपय मुलुकमा यस्तै कार्यक्रम गर्न खोज्दा अनुमति नदिएको बताइएको छ भने नेपालले धर्मनिरपेक्ष राष्ट्र भएको भन्दै त्यस्तो कार्यक्रमलाई अनमुति दिएको बुझिएको छ । सरकारले भीआईपीलाई सुरक्षा दिने नाममा जनतालाई नै दुःख दिने यातायात व्यवस्थापन गरेको भन्दै चौतर्फी आलोचना भएपछि दोस्रो दिन जोर कि विजोर भन्ने प्रणाली हटाएको थियो ।
विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनले सन् २००५ मा युनिफिकेसन चर्च स्थापना गरेका हुन् । जिसस क्राइस्टले पुरा गर्न नसकेको जिम्मेवारी दिएर ईश्वरले आफूलाई धर्तिमा पठाएको उनी बताउने गर्थे ।
सन् २००४ मा उनले आफैंलाई ‘मसिहा’ घोषणा गरेका थिए । अनुयायीहरु मुनलाई ‘ट्रु फादर’ (नेपालीहरुले सच्चा पिता) सम्वोधन गर्छन् । उनकी दोस्रो पत्नी हाक जा हान मुनलाई ‘ट्रु मदर’ (नेपालीहरुले सच्चा माता) भन्ने गरिन्छ भने दुवैलाई संयुक्तरुपमा ट्रु प्यारेन्ट्स (नेपालमा सच्चा मातापिता) भन्ने गरिन्छ ।
३ सेप्टेम्बर २०१२ मा मुनको मृत्यु भएपछि उनकी पत्नी हानले श्रीमानको स्थान लिएकी छन् । पहिलो श्रीमती सुन किल चोइसँग डिभोर्सपछि मुनले ४० वर्षको उमेरमा आफूभन्दा २३ वर्ष कान्छी हानसँग बिहे गरेका थिए । उनीहरुले आफ्नो परिवारलाई ‘पवित्र परिवार’ वा ‘सच्चा परिवार’ बताउने गरेका छन् ।
यूनिफिकेसन चर्चको एउटा अंगका रुपमा रहेको युनिभर्सल पीस फेडरेसन नेपालमा २००५ मा नै भित्रिएको हो । नेपालमा यो छद्मभेषी ढंगले सञ्चालित छ । यसलाई आईएनजीओको रुपमा दर्ता गरी सामाजिक संस्थाको रुपमा चिनाउने गरिएको छ तर, संस्थाभित्र क्रिश्चियानिटीको अभ्यास हुन्छ ।
युपीएफ नामक संस्थाको नेतृत्व हाल पूर्वमन्त्री समेत रहेका एकनाथ ढकाल गरिरहेका छन् । सो संस्थाले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटी’को सैद्दान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि लिएर युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएको छ ।
यस्तो विवादास्पद अन्तर्राष्ट्रिय संस्थाले गरेको कार्यक्रमलाई सरकारले अनावश्यक रुपमा प्रोत्साहन दिएको भन्दै आलोचना भएपनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफै विमानस्थल पुगेर सरकारको नियमन्त्रणामा आएका पाहुनालाई झै एनजिओका पाहुनालाई स्वागत गरे । यसलाई कूटनीतिक मामिलाका जानकारले कूटनीतिक परम्परा विपरित भएको भन्दै सरकारको कूटनीतिक कमजोरीका रुपमा लिएका छन् ।
आगामी दिनहरुमा विश्वका कुनै हिन्दु वा वौद्ध धर्मावलम्वी नेता वा अन्य संघसंस्थाको निमन्त्रणामा आउने पाहुनालाई पनि सरकारले त्यसरी नै स्वागत गर्छ कि गर्दैन भन्ने प्रश्न उठेको छ ।
ढकालले विभिन्न राजनीतिक दलका नेतालाई रिझाउन विदेश घुमाउने गरेका छन् । यो संस्थाबाट बारम्बार विदेश (खासगरी कोरिया) घुम्नहरुमा नेता, सांसद, पत्रकार, वुद्धिजीवीलगायत छन् । ढकालले सवैजसो उच्चतहका नेताहरुलाई कोरिया लगेर नेताहरुलाई फाइभस्टार होटलमा राख्ने र एक दिन मुनको दरवारमा घुमाउने गरिसकेका छन् ।
त्यसमध्ये पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई ढकालले धेरै पटक विदेश भ्रमण गराइसकेका छन् । नेकपाभित्र धेरै विदेश घुम्न जानेमा नेता नेपाल पर्छन् । पूर्वप्रधानमन्त्री जस्तो व्यक्ति ठूलो पार्टीका नेता नेपाल एनजिओले आयोजना गरेको सम्मेलनको आयोजक कमिटीको संयोजक बन्न तयार हुनुको कारण पनि उनको विदेश भ्रमण मोह नै हो भन्ने आरोप लागेको छ । नेता नेपालले नै सरकारलाई सम्मेलनको सहआयोजक बनाएर पार्टी र सरकारलाई वद्नाम गराएको नेकपाभित्र चर्चा छ । यसले नेता नेपालको राजनीतिक भविष्यमा समेत ठुलै असर पुग्ने अनुमान गर्न थालिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत संघसंस्था, वुद्धिजीवी तथा सर्वसाधारणले तीव्र विरोध पछि सरकारले सो सम्मेलनमा सहआयोजक नबस्ने निर्णय गरेको थियो । कांग्रेसले सरकार क्रिश्चियनको प्रचारप्रसारमा लागेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार एनजिओ÷आईएनजिओको पछि लागेको आरोप लगाउँदै देश धर्मनिरपेक्ष घोषणा गरेर इसाईहरुको प्रचारमा सरकार लाग्नु संविधान विपरित भएको तर्क समेत गरेका छन् ।

 

अरुको धर्म–संस्कृतिप्रति नेपाली आत्मसमर्पण गर्दैनन् : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवाद र अतिवाद विश्व शान्तिको वाधक भएको बताएका छन् । शनिबार एसिया प्यासिफिक सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ठूला तथा शक्ति राष्ट्रलाई साना राष्ट्रमाथि अप्रत्यक्ष शासन गर्न खोजेको भन्दै त्यसको अन्त्यका लागि अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुबीच सहकार्य हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको इतिहास र संस्कृति धेरै पुरानो भएको उल्लेख गर्दै संसारलाई आफ्नो ठान्ने पुर्खाको आदर्शबाट नेपाल प्रेरित भएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै प्रधानमन्त्री ओलीले नैतिक रुपमा आत्मसमर्पण नगरिने स्पष्ट पारे ।
भौतिक वस्तुहरुको अभाव समाजको केही हिस्साले अझै पनि दुःख भोगिरहेका पनि नैतिकरुपमा नै आत्मसमर्पण गर्ने वा अरुको संस्कृति र मूल्य–मान्यतालाई नक्कल (अङ्गीकार ) गर्न तयार नरहेको स्पष्ट पारे ।
‘मलाई के विश्वास छ भने हिमालयमा अवस्थित यो प्राचीन शहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिहरुको जीवनलाई कसरी उज्ज्वल बनाउने भन्ने बारेमा धेरै सिकाउन सक्छ ।’ प्रधानमन्त्रीले भने, ‘हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ । हामीलाई के पनि विश्वास छ भने हामी विश्वलाई शान्ति, मित्रता र भातृत्वको विकासका लागि आवश्यक मूल्य र मान्यताहरु प्रदान गर्न सक्छौं ।’