गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी

पाल्पा÷ जिल्लाको माथागढी गाउँपालिकामा शिविर मार्फत सरकारी सेवा पाएपछि स्थानीय खुशी भएका छन् । स्वास्थ्य शिविर मार्फत सरकारी सेवा पाउँदा आफुहरु खुसी भएको गाउँपालिका ५ हात्तिलुङ्गका स्थानीय झमकला थापाले बताईन् ।
स्वास्थ्य परिक्षणका लागि जिल्ला सदरमुकाम वा नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता खेप्दै आएका स्थानीयहरु स्थानीय स्तरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा खुशी भएका हुन् । नेपाली सेना गोरखदल गण पाल्पाले माथागढी गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । माथागढी गाउँपालिका–५ हात्तिलुङ्गमा डाक्टर सहितको स्वास्थ्य शिविरमा दुई सय ४० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षणमा एक सय ४५ जना महिला, ७८ जना पुरुष र १७ जना बालबालिका गरी दुई सय चालिस जनाले सेवा लिएका हुन् ।
शिविरमा क्या.डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालबाट स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा मुटु, मधुमेह, पेट सम्बन्धी उपचार र निःशुल्क औषधी बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । दुर्गममा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा सेना र जनताबिचको सम्बन्ध सुमधुर बन्ने विश्वास लिएको गोरखदल गणका सूचना अधिकारी मनोज डंगोलले बताए ।