टोल टोलमा पञ्जिकरण र नागरिकता चर्चा
चितवन÷ भरतपुर महानगरपालिकाको १६ नंबर वडा कार्यालयले पञ्जिकरण तथा नागरिकतासम्बन्धी दुई दिवशीय गोष्ठी सम्पन्न गरेको छ । टोल टोलमा जनचेतना अभियान चलाउने उद्देश्यले आयोजित गोष्ठीमा सो वडाका ४० वटा टोल विकास संस्थाका प्रतिनिधिलाई नागरिकता तथा पञ्जिकरणसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
मंसिर ९ मा सानोगढीको ज्ञानेश्वर सामुदायिक वनको हल र १० गते विजयनगरमा चारपाते युवा क्लबको हलमा सञ्चालन भएको उक्त गोष्ठीका सभापति तथा वडा अध्यक्ष चतुरमान गुरुङले प्रशिक्षणबाट प्राप्त उपलब्धिलाई घर–घरमा पु¥याउन संस्थाका प्रतिनिधिलाई अनुरोध गर्नुभयो ।
नागरिकतासम्बन्धी ऐन र प्रावधानहरूका बारे प्रशिक्षित गर्न जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले प्रशिक्षकको भूमिका निभाउनु भयो । उहाँका अनुसार नेपालमा ५ किसिमका नागरिकता वितरण हुन्छन् । तीमध्ये वंशज, अंगिकृत, वैवाहिक अंगिकृत, जन्मको आधार र सम्मानार्थ नागरिकता हुन् । सर्वोच्च अदालतको फैसला अनुसार अहिले भने जन्मको आधारमा दिइने नागरिकतालाई पुरै निषेध गरिएको पनि उहाँले बताउनु भयो ।
नागरिकता बनाउन आउनेले आवश्यक कागजात पु¥याएर आएमा ५ मिनेटमै नागरिकता दिन सकिने तर कागजात अधुरा र अपत्यारिला भएमा समस्या हुने भएकाले टोल टोलका बासिन्दालाई सचेत गराउन थालिएको यो अभियान महत्वपूर्ण र प्रभावकारी हुने बताउनु भयो ।
नागरिकता जारी गर्ने कानुनी आधारका बारेमा प्रशिक्षक ढकालले भन्नुभयो,–नेपालको संविधान २०७२, नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३, नेपाल नागरिकता कार्यविधि र नेपाल सरकारबाट प्राप्त परिपत्र र निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता प्रमाणपत्रलाई संविधान र ऐन बीच भएको बाँकी भिन्नतालाई संसदले तत्काल सच्चाउनु पर्ने अवस्था छ ।
पञ्जिकरणसम्बन्धी प्रशिक्षक तथा वडा नं. २५ का सचिव सुवर्ण बज्राचार्यले पञ्जिकरणतर्फ ५ किसिमका व्यक्तिगत घटना तत्कालै आफ्नो वडामा दर्ता गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद र बसाइ सराइका घटनालाई समयमै दर्ता गर्ने बानीले कागजी समस्या हदैसम्म हट्ने छन् । पछिल्लो भदौ १ गते जारी संहिता कानुनले २० वर्ष नपुगी विहे गर्न नपाइने व्यवस्था गरेकाले २० वर्ष मुनिकालाई विवाह दर्ता गर्न नमिल्ने भएकाले कसैले पनि त्यस्तो गल्ति नगर्न सुझाउनु भयो ।
दोश्रो दिनको गोष्ठीको उद्घाटन सत्रका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी ‘प्रयास’ले यस्तो कार्यक्रम गर्ने सम्भवतः यो पहिलो वडा हो र यसको प्रभावबाट महानगरपालिकाले अन्य वडामा पनि यस्तो कार्यक्रम अभियानकै रूपमा लैजाने बताउनु भयो ।
वडा सदस्य ओमबहादुर रावल ‘शरण’ले शुभकामना मन्तव्यमा संविधान र ऐन बीचको विद्यमान भिन्नताले उत्पन्न समस्या कम गर्नुपर्ने भएकाले कार्यान्वयन गर्ने कर्मचारीसंगै कानुन बनाउने सांसद पनि उपस्थित भएको भए अझ सान्दर्भिक हुने थियो भन्नुभयो ।
कार्यक्रमको सहजीकरण गर्नुभएकी वडा सचिव जानुका थापा केसीले कार्यक्रमको औचित्यबारे भन्नुभयो,–मैले यस वडामा आएर गरेको अनुभवले भन्यो कि यहाँका अधिकांश वासिन्दामा कागजी चेतनाको स्तर निकै कम छ त्यसैले यस्तो कार्यक्रमले हदैसम्म मद्दत गर्छ भन्ने लागेर महानगरपालिकामा प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्ताव सहस्र स्वीकार भई यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडा सदस्य साबित्री देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । गोष्ठी सकिएको केही दिनमै टोल टोलमा पञ्जिकरण र नागरिकतासम्बन्धी चर्चा चलेको छ ।