डीआईजीलाई विद्यार्थीको प्रश्न

महिला स्वतन्त्र र सुरक्षित कहिले हुन्छन् ?

पाल्पा÷ प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी पिताम्वर अधिकारी तानसेनस्थित जनता माविमा प्रवेश गरे । बर्दीधारी प्रहरी प्रमुख विद्यालयमा प्रवेश गर्नासाथ विद्यार्थीहरु एक आपसमा प्रहरी विद्यालयमा आउनुको कारण खोज्न थाले ।
डिआइजी अधिकारी जब कक्षा कोठामा प्रवेश गरे तब विद्यार्थीहरु एकाग्र भएर उनी तर्फ हेर्न थाले । डिआइजीले कक्षा कोठामा आउनुको कारण विद्यार्थीहरुलाई के बताएका थिए, विद्यार्थीहरुले प्रश्न गर्न थाले ।
‘के तपाई हामीले सोधेको प्रश्नको अप्ठ्यारो नमानी जवाफ दिन सक्नु हुन्छ ?’ एक विद्यार्थीले भनिन् । प्रहरी प्रमुख अधिकारी र विद्यार्थीहरु बीच घण्टौं भलाकुसारी चल्यो । दिनहुँ बन्द कोठामा रहेर अध्ययन गर्ने उनीहरु निर्धक्कसँग आफ्ना कुराहरु राख्न पाउँदा उत्साहित देखिन्थे । बर्दीधारी प्रहरी प्रमुख अधिकारीसँग विद्यार्थीहरुको हिच्किचाहट फिटिक्कै थिएन, न त प्रहरी प्रमुखले नै कुरा लुकाए । विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ डिआइजीले रमाइलो पारामा दिईरहेका थिए ।
विद्यार्थीहरुले पालैपालो प्रश्न राखिरहेका थिए । समाजमा पुरुष सरह निर्धक्क भएर सुरक्षित रुपमा हिडडुल गर्न कहिले पाईन्छ सर ? हामीले पनि पुरुष सरह मान सम्मान कहिले पाईन्छ सर ? विद्यार्थी रेनुका खाम्चाले प्रश्न गरिन् । समाजमा स–साना बालिकादेखि वृद्ध हजुरआमासम्म सुरक्षित नभएपछि रेनुकाले डिआइजी अधिकारीसँग यस्तो प्रश्न गरेकी हुन् ।
सोही विद्यालयमा अध्ययनरत अर्की बालिका सविना श्रेष्ठले लामो समयसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्नुको कारण बारे प्रदेश प्रहरी प्रमुख अधिकारीसँग जिज्ञासा राखिन् । अर्का विद्यार्थी रोशन नेपालले पनि दरवार हत्याकाण्डको बारेमा जिज्ञासा राखे । बुधबार प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत तानसेन आएका डिआइजीलाई विद्यालयमै विद्यार्थीहरुले प्रश्न गरेका हुन् ।
जवाफमा डिआइजी अधिकारीले कानुनी कुराबाट भन्दा सामाजिक विभेदका कारण पुरुष सरह महिलाहरुले स्वतन्त्र रुपमा कुनै पनि काम गर्न नपाएको बताए । घर तथा परिवारबाटै लैङ्गिक हिंसा शुरु भएकाले परिवारबाटै सुधारको अभियान सञ्चालन गर्नुपर्ने, जसको नेतृत्व टिनएजर युवा युवतीबाटै गर्नुपर्ने, पढाई, घर व्यबहार, आम्दानी खर्च जस्ता काममा छोरा छोरीबीच बराबर अधिकारको अभ्यास गर्नुपर्ने डिआइजी अधिकारीले बताए । समाजमा विविध तरीकाबाट अपराधका घटनाहरु हुने भएकाले सो घटनामा विद्यालयमा अध्ययनरत बालवालिकाहरु नपरुन् भनि नेपाल प्रहरीले विद्यालय केन्द्रित अन्तरक्रिया शुरु गरेको डिआइजी अधिकारीले जानकारी गराए ।
विद्यालयमा पढ्ने बालवालिका नै भोलीको नेपाल निर्माण गर्ने भएकाले उनीहरु आपराधिक गतिविधीमा नफसुन् भनि समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले समाजबाट अपराध न्युनिकरणका लागि विद्यालय सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख विश्वमणी पोखरेलले यौन हिंसा, साईवर अपराध, लागुऔषध दुव्र्यसनी जस्ता अपराधका विषयमा जानकारी गराए ।