राजपामा रडाको

सत्तामा जाने महतोको दाउ, महन्थको घट्यो भाउ

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा पछिल्लो समय बढेको विवादले फुटको संघारमा पुर्याएको छ । राजेन्द्र महतोलाई अध्यक्ष मण्डलको संयोजक तोकिएपछि पूर्वसंयोजक महन्थ ठाकुर र उनका समर्थकहरु रुष्ट भएका छन् । पार्टीहित विपरित जानेहरुलाई आफूले कारवाही गर्ने बताइरहेका महतोमाथि विभिन्न नेताहरुले दवाव दिइरहेका छन् ।
तत्कालिन अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टी र त्यसका नेता महन्थ ठाकुर प्रभावशाली र ज्येष्ठ भएकाले उनैलाई संयोजक तोकिएको थियो । तर ६ वटा पार्टी मिलेर बनेको राजपाभित्र केही दिनयता विवाद चुलिएपछि अनिल झा जस्ता नेताहरुले पार्टी पुनः फुटाउन सक्ने आशंका बढेको एक नेताले बताएका छन् ।
नेता झाले महतोको नेतृत्व स्वीकार गर्न आनाकानी गरिरहेका छन् । झाले वहुमतको आधारमा संयोजक तोकिएका महतोलाई चुनौती दिदै छुट्टै गतिविधि गर्न थालेका छन् । संयोजक परिवर्तन गर्ने प्रक्रिया नै गलत भएको उनको तर्क छ भने महतोलाई संयोजक बनाउने खेलमा शरदसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र राय यादव लागेका थिए ।
जसले गर्दा संयोजक महतोलाई काम गर्न अप्ठ्यारो पर्ने अवस्था देखिएको छ । पार्टी गठन हुँदा सबैले महन्थ ठाकुरलाई विश्वास गरेर अघि बढ्ने प्रतिज्ञा गरेका थिए । तर विधानमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुँदै जाने व्यवस्था भएकाले वहुमतले महतोलाई संयोजक बनाइएको हो ।
महतोले बोलाएको वैठक महन्थ ठाकुर र अनिल झाले बहिष्कार गरेपछि पार्टीभित्रको तनाव सार्वजनिक भएको हो । तर महासचिव केशव झाले अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव काठमाडौं बाहिर भएकाले वैठक स्थगित गरिएको बताएका छन् । यसमा महन्थ ठाकुर निकट डा. सुरेन्द्र झा सहमत छैनन् । उनी भन्छन्, राजकिशोर काठमाडौं बाहिर रहेको वहना बनाएर वैठक स्थगित गरिएको मात्र हो ।
२०७४ वैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलहरु मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको थियो । पार्टी एकता भएपनि डेढ वर्षसम्म महाधिवेशन हुन नसकेको भन्दै नेता, कार्यकर्ता रुष्ट छन् । महन्थ ठाकुर निकट वृशेषचन्द्र लाल भन्छन्– ‘पार्टीमा असहज अवस्था आएको छ, राजनीति दल सम्वन्धी व्यवस्था अनुसार नयाँ पार्टी गठन गर्न कम्तिमा ४० प्रतिशत सदस्य पुर्याउनुपर्छ र केही साथीहरुले पार्टी फुटाउने प्रयास गरिरहेको देखिन्छ ।’
अहिलेसम्म महन्थ ठाकुर बोलेका छैनन् । तर ठाकुर र महतोको विवादले पार्टीलाई दुर्घटनाको शिकार बनाउन सक्ने आशंका बढ्दै गएको छ । राजपामा नेतृत्व फेरिनुलाई सत्ता स्वार्थसँग जोडेर समेत हेर्न थालिएको छ । महतो पक्ष सरकारमा जानुपर्ने पक्षमा भएपनि ठाकुर पक्ष सत्तामा जान हुने अडानमा थिए । संयोजक फेरिएसँगै अब महतो र भण्डारी मन्त्री हुने सम्भावना बढेको एक नेताले बताएका छन् ।
राजपाभित्र कचिंगल बढेसँगै संविधान संशोधनको माग पनि सेलाउने देखिएको छ । प्रधानमन्त्री हुनुभन्दा पहिले देखिनै केपी ओलीले आफू प्रधानमन्त्री भएको केही हप्तामै संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तराईका मागलाई सम्वोधन गर्ने बताएका थिए । राजपाले संविधान संशोधनका लागि पटकपटक दिएको अल्टिमेटमले प्रधानमन्त्री ओलीका लागि ठूलो दवाव पुगेको थियो । तर ६ वटा पार्टी मिलेर बनेको राजपा नै छतिर फर्किन थालेपछि सो माग ओझेल पर्ने देखिएको छ । जसले गर्दा प्रधानमन्त्री ओलीको टाउको दुःखाइ कम हुने देखिन्छ ।