अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ
कुश्मा-जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेलापर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् ।
आठ रोपनी जमीनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल भएका छन । उनले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ ।
गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयान हुनेक्रम घट्दै गएको छ ।
खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरे। अहिले अकबरे खुर्सानी मात्र लगाएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताए । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसकेका छन ।
युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला-५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताए । तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ । यो खुशीको कुरा हो ।