राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र पाएनन्
ललितपुर- एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० छ ।
सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।
यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् ।
उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् ।
त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको सेवाग्राहीले बताएका छन् ।
स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । “एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।”
यो कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो ।
गत वर्षदेखि देशभरका अञ्चल कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् । सबै अञ्चल कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । त्यहाँ भएको उपकरण पर्याप्त नभएकाले समस्या भएको हो ।
“एकातिर पहिले लिइसकेकाको नवीकरण र अर्कातिर नयाँ बन्ने चालक अनुमतिपत्रमा स्मार्टकार्ड नै लागू भएको छ ।”
चालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।