थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल’

काठमाडौँ – कंचनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँमा प्रदर्शन भएको छ । जस्टिस फर निर्मला अभियानले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

‘अहिले नजुटे कहिले जुट्ने ?, हामी नजुटे अरु को जुट्ने ?’ स्लोगनसहित निर्मलाको न्यायका निम्ति डा. गोविन्द केसीसहितकाहरु प्लेकार्ड बोकेर सडकमा आएका हुन् ।

यसमा प्रधानमन्त्रीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री लेखिएको प्लेकार्ड लगाएर युवाले आँखामा पट्टि बाँधेर प्रदर्शन गरेका छन् । यस्तै पछिल्लो समय देशभर टाँसिन थालेका निर्मलाका पोस्टहरु पनि सहभागीले बोकेका थिए ।

उनीहरुले सडकमा नाटक पनि प्रस्तुत गरेका थिए । एउटा प्लेकार्डमा ‘थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल’ लेखिएको थियो ।