मध्य प्रदेशमा कांग्रेस र भाजपा बिच कडा प्रतिस्पर्धा
भारत- भारतको तेलंगाना र राजस्थानमा शुक्रबार विधानसभा चुनावका लागि मतदान सकियो । त्यसअघि मध्य प्रदेश, छत्तीसगढ र मिजोरममा पनि विधानसभा चुनावका लागि मतदान भएको थियो ।
सन् २०१९ मा हुने आम चुनावअघि यी पाँच राज्यमा भएका विधानसभा चुनावलाई भारतीय राजनीतिमा महत्वपूर्ण कडीको रुपमा हेरिएको छ । पाँचै राज्यमा भएको विधानसभा चुनावको नतिजा डिसेम्बर ११ मा आउँदैछ ।
तेलंगना र राजस्थानमा शुक्रबार बेलुका मतदान सकिएसँगै एग्जित पोल आउन थालेका छन् । विभिन्न सञ्चार माध्यमले गरेका एग्जिट पोलका नतिजाहरु फरक छन् ।
राजस्थानका बारेमा भने प्रायः सबै एग्जिट पोल समान छन् । राजस्थमानमा भारतीय जनता पार्टीको बसुन्धरा राजे नेतृत्वको सरकार अब अघि जान नसक्ने देखिएको छ । पाँच वर्षपछि राजस्थानमा कांग्रेस सत्तामा आउने सम्भावना छ ।
मध्य प्रदेशमा कांग्रेस र भाजपाबिच कडा प्रतिस्पर्धाको अवस्था देखिएको छ । छत्तीसगढमा भाजपा अघि आउने देखिएको छ भने तेलंगानामा स्थानीय पार्टी तेलंगाना राष्ट्र समिति (टिआरएस) सत्तामा आउने सम्भावना छ ।