व्यावसायिक हितका लागि यातायात व्यवसायको सिण्डिकेट तोडिएको : गृहमन्त्री थापा

काठमाडौँ-  नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले केही व्यक्तिमा मात्रै सीमित रहेको यातायात व्यवसायलाई सबैको पहुँचमा पुर्याउने काम सरकारले गरेको बताएका छन्।

यातायात क्षेत्रमा आउने सबैको हितका लागि सिण्डीकेट तोडिनु अत्यावश्यक रहेको धारणा राख्दै थापाले सिण्डिकेटको अन्त्यसँगै यातायात व्यवसाय व्यावसायिक रुपमा अघि बढेको बताए।

गृहमन्त्री थापाले लामो समयदेखि केही व्यक्तिले यातायात व्यवसायमा एकाधिकार कायम गरि एकलौटी रुपमा शोषण गर्दै आफु मात्रै समृद्ध हुने गरेको र त्यस्तो पद्धतिलाई नीति निर्माता र प्रशासकले पनि संरक्षण गर्दै आएकाले यातायात क्षेत्र व्यावसायिक बन्न नसकेको दाबी गरे।

लामो समयदेखिको सीमित व्यक्तिको एकाधिकारबाट बाहिर ल्याउने काम भएकाले तत्काल केही कानुनी बाधा देखिएपनि सरकारले सबै जटिलताहरुको अन्त्य गर्दै लैजाने प्रतिवद्धता पनि थापाले जनाए।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको टिप्पणी गर्दै त्यसको अन्त्यका लागि पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।