आर्थिक पत्रकार संघमा नयाँ कार्यसमिति

काठमाडौं । आर्थिक पत्रकार संघको चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न चौथो महासभाले भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
संघको उपाध्यक्षहरुमा इन्द्र बानिया, राजेश बर्मा र छविलाल बगाले चयन भएका छन् । यसैगरी महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे चयन भएका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्मद अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल चयन भएका छन् ।
कार्यक्रमको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए भने उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए ।
सो अवसरमा मन्त्री बास्कोटाले सरकारले राम्रोसँग काम गर्न खोजेपनि अरुले सरकारको गति बुझ्न नसकेको बताए ।
मन्त्री बास्कोटाले ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको साटो अदालतले उन्मुक्ति दिएकोमा असन्तुष्टि ब्यक्त गरे । त्यसैगरि उनले महाभूकम्पपछि प्रतिबद्धता व्यक्त गरेको रकम बिभिन्न दातृ निकायले अहिलेसम्म नदिएर मानवीय संबेदननामाथि खेलवाड गरेको आरोप लगाए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. युबराज खतिवडाले एउटै उद्देश्य भएका सस्थाहरु अलग अलग हुनुको साटो एकीकृत भएर अघि बढ्न सुझाव दिएका थिए ।